लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य ‘लिपे लेक’ लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम सुरू गरेको छ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक सुरू गरेको हो ।
नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरी राउन्ड ट्रेक सुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको सो राउन्ड ट्रेकले त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ।
कार्यक्रमको संयोजन टान गण्डकीका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन्।
राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए। शनिबार प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि आइतबार दाम्राङ पुग्ने सो टिमको योजना छ।
नयाँ रूटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय स्थानहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ। माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ। साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ।