स्याङ्जाको सिरूबारी गाउँमा पर्यटन शुभारम्भ भएको २५ वर्ष पुगेका अवसरमा आयोजित रजत महोत्सव कार्यक्रममा सहभागी हुन आएका पर्यटन मन्त्री सुदन किराँती गाउँलेकोे आतिथ्यबाट मोहित बनेका छन्।
बिहीबार साँझ गाउँमा आएका उनले एक रात सिरुबारीमा विताएर शुक्रबार महोत्सव उद्घाटन गरे।
आफूले कल्पना गरेको ग्रामीण पर्यटनको सुवास सिरुबारीमा पाउँदा खुसी लागेको उनले प्रतिक्रिया दिए।
सिरुबारी गाउँ पर्यटनको पाठशालाका रुपमा स्थापित छ। म संसारभरका नेपाली र विदेशीलाई सिरुबारी गाउँ घुम्न आउन आब्हान गर्दछु’, किराँतीले शुक्रबार बिहान गाउँ डुल्दै गर्दा सञ्चारकर्मीहरुसँग भने, ‘यहाँका गाउँलेको सत्कारले भावुक बनायो।’
गाउँ प्रवेश गरेको साँझमै गाउँलेको स्वागतमा झुमेका मन्त्री किराँती गाउँलेसँग नाचेका थिए।
गाउँलेहरुले फूलमाला र पञ्चै बाजाको धुनसँगै स्वागत गरेका थिए। शुक्रबार झाँकीसहित गाउँ घुमेपछि प्रमुख अतिथि किराँती सहितका अतिथिले ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको प्रतिमामा माल्यापर्ण गरे। लगत्तै मन्त्री किराँतीले महोत्सव उद्घाटन गरेका हुन्।
‘हामीले उत्पादनलाई पर्यटनसँग जोड्नुपर्छ। तब मात्र पर्यटन दिगो बन्छ’, उनले भने, ‘सिरुबारीको प्रवर्द्धन गर्न म आवश्यक बजेट सहयोग गर्नेछु।’
त्यसैगरि गण्डकी प्रदेश सभासद सरस्वती गुरुङले सिरुबारीलाई ग्रामीण पर्यटन अध्ययन केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा मन्त्री किराँती, पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी, संघीय सांसद राजु थापा र गण्डकी प्रदेश सभासद् गुरुङले सिरुबारी दपर्ण नामक स्मारिका विमोचन गरेका थिए।
कार्यक्रममा उत्कृष्ट होमस्टे पुरस्कार अमलटारीको मध्यवर्ती सामुदायिक होमस्टेलाई प्रदान गरियो। उसलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। त्यस्तै सिरुबारीको पर्यटन विकासमा योगदान दिने पत्रकार तथा विभिन्न व्यक्तिलाई पनि सम्मान गरियो।
महोत्सवको रौनक बढाउन कलाकार कृष्ण कँडेलको इन्द्रेणी समूह, गायक वसञ्त थापा, राजु गुरुङ र राजन गुरुङसहित स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुति दिइरहेका छन्। महोत्सवमा दर्शकहरुको भिड लागेको छ।
महोत्सव शनिबारसम्म सञ्चालन हुने रजत जयन्ती मुल समारोह समितिकी संयोजक उर्मिला गुरुङले बताइन्।
स्मरणीय रहोस्, सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ हो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङले यहाँ सामुदायिक होमस्टे सुविधासहित गाउँ पर्यटन शुभारम्भ गरेका थिए । वि.सं. २०५४ कात्तिक २३ गते देखि गाउँमा पाहुना राख्न थालिएको थियो। सिरुबारीको सिको गर्दै आज मुलुकभर होमस्टे खुलेका छन्।
होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन्। पाहुनालाई बाँडेर गाउँलेका घरघरमा राख्दा सबैलाई फाइदा पुग्छ। सबैले कमाइ गर्ने अवसर पाउँदा समाजमा शान्ति हुन्छ। यही सत्य बुझेर क्याप्टेन रुद्रमानले जन्मथलो सिरुबारीमा सामुदायिक होमस्टे शुभारम्भ गरेका थिए।
राज्यले भन्दा धेरै वर्ष पहिले नै क्याप्टेन रुद्रमानले नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको फूल फुलाएका थिए। नेपाल सरकारले वि.सं. २०६७ मा ल्याएको ‘होमस्टे सञ्चालन कार्यविधि’ले मात्र पहिलो पटक होमस्टेलाई सम्बोधन गर्यो।
गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं १ मा पर्दछ सिरुबारी गाउँ (१,६१० मिटर)। गाउँका ४३ मध्ये २० घरमा होमस्टे सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० किलोमिटर, बसमा ६ घण्टा अथवा हवाईयात्रा २५ मिनेट । पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जाको नाउडाँडासम्म २५ किलोमिटर सडक यात्रा । पोखराको पृथ्वीचोकबाट नाउडाँडा हुँदै सिरुबारीसम्म सार्वजनिक बस तथा जिप चल्छन् । मोटर बाइकमा पनि जान सकिन्छ ।
नाउडाँडा–सेती दोभान–बेजाङ– सिरुबारी–१९ किलोमिटर ।
नाउडाँडा–बाडखोला–सतौं–दरौं–सिरुबारी ३५ किलोमिटर ।
नाउडाँडा–जुग्ले–कार्कीनेटा–सिरुबारी ३८ किलोमिटर ।
स्याङ्जा बजार–हेलु–अर्जुनचौपारी–सिरुबारी १८ किलोमिटर ।
हेर्नुहोस् तस्बिरहरू