आज फागु पूर्णिमा। धुलिखेल जिपलाइनमा पनि रङहरूको यो पर्वको माहोल बिहानैदेखि देखिएको छ।
होली मनाउने क्रममा धुलिखेल पुगेका युवायुवती रङ खेल्दै जिपलाइनमा रमाएका छन्। फागु पूर्णिमाको अवसरमा कुनै पनि जिपलाइन खेल्दा २० प्रतिशत छुट समेत रहेको छ।
शरीरमा हार्नेस बाँधेर क्याराभिनाको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिँदै एक ठाउँबाट हावामा कावा खाँदै अर्को ठाउँसम्म पुग्ने साहसिक र रोमाञ्चक खेल हो जिपलाइन।
क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जना सँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष पूरा भएको छ। सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो।
धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ। दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन औसत ७५ किमी प्रतिघन्टाको गतिमा हुत्तिन्छ।
करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी तथा जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ।
क्लासिक (साधारण) जिपलाइन खेल्न २ हजार ५ सय रुपैयाँ, सुपरम्यान जिपलाइन खेल्न ३ हजार ५ सय रुपैयाँ र टेन्डम (जोडी) जिपलाइन खेल्न ४ हजार ५ सय रुपैयाँ लाग्छ।