आगामी नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रुपमा मनाउन म्याग्दी उद्योग वाणिज्य संघले तयारी तीब्र पारेको छ। सरोकारवालाहरुले समर्थन र सहयोगमा आगामी वैशाख १ गतेदेखि म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो।
अपार पर्यटकीय सम्भावनाहरु हुँदाहुँदै ती क्षेत्रहरुमा पर्यटकलाई पुर्याउन नसक्दा सूचना र प्रविधिको यो युगमा पनि ओझेलमा परेका ‘भर्जिन टुरिजम प्लेस’ को मार्केटिङ गर्ने उद्धेश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गरिएको हो ।
म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पारी उपलव्धीमूलक बनाउन म्याग्दी उद्योग वाणिज्य संघको संयोजकत्वमा बेनी नगरपालिका लगाएत पाँचवटै गाउँपालिका,नेपाल उद्योग वाणिज्य महासंघ,मोना आइसिसि,नेपाल पर्यटन वोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर म्याग्दी भ्रमण वर्ष २०७५ मूल समारोह समिति गठन गरिएको छ ।
त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवम् म्याग्दी भ्रमण वर्षका अभियन्ता राजेश शाक्यको संयोजकत्वमा सूचना केन्द्र स्थापना तथा व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, बेलवहादुर कटुवालको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, अमित वानियाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र लिलानाथ गौतमको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ ।
भ्रमण वर्ष मनाउन करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान छ। उक्त रकम, संघ स्थानीय गाउँपालिका, नगरपालिका, नेपाल पर्यटन बोर्ड र विदेशमा रहेका म्याग्देलीको संस्था मोनाको सहयोगमा जुटाइने अभियन्ता राजेश शाक्यले जानकारी दिनुभएको छ ।
१ नगरपालिका र ५ गाउँपालिकामा समेटिएको म्याग्दीमा धौलागिरि हिमाल, संसारकै गहिरो गल्छी,आकर्षक रुप्से झरना, घोडेपानी, गुरिल्ला पदमार्ग, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा पदमार्ग, धौलागिरि सेन्चुरी पदमार्ग, खयरबराह जस्ता पर्यटकहरुका लागि आकर्षक पदमार्ग र नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत धेरै सम्पदा छन् । भ्रमण वर्षकै अवसर पारेर अर्को एउटा पदमार्ग पनि लन्च गरिने भएको छ।
पुन मगरहरुको कुल देवताको नामबाट नामाकरण गरिने सो पदमार्ग करबाकेली पदमार्गको नामले चिनिने छ। म्याग्दी मगर बाहुल्य जिल्ला हो।
म्याग्दीमा प्राकृतिक तातोपानीका कुण्ड, जडिबुटी, बन पैदावर र जैविक विविकताका प्रशस्त स्रोतहरु छन्। वर्षभरी म्याग्दीका प्रवद्र्धनात्मक सामाग्री उत्पादन र प्रचारप्रसारमा जोड दिने आयोजकको तयारी छ।
भ्रमण वर्षका अवसरमा जिल्लाका प्रमुख आकर्षणहरुको पोष्टर, युट्युव भिडियो, ब्रोसर, पुस्तिका र वेवसाइट बनाइनेछ । साथै भ्रमण वर्षभर पोखरादेखि बेनीसम्म विभिन्न ठाउँमा म्याग्दी चिनाउने होर्डिङ बोर्डहरु समेत राखिनेछ ।
पदमार्गको संरक्षण र विस्तार गरी विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्ने सुझाव
म्याग्दी म्रमण वर्ष २०७५ नजिकिदै गर्दा म्याग्दीका सरोकारवालाहरुले पदमार्गको संरक्षण र विस्तार गरी विदेशी पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने सुझाव दिएका छन् ।
पर्यटकीयस्थललाई लक्षित गरी विस्तार गरिएका पदमार्ग मोटरबाटोले मासिँदा विदेशी पर्यटकले नेपालमा खर्च गर्ने पैसा बचत गरी अन्य देशमा खर्च गर्ने गरेको पर्यटन ब्यवसायीले बताएका छन् ।
बिहिबार म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दीको पर्यटन र सम्भावना विषयक छmलफल तथा नयाँ पदमार्गको खोजी विषयक छलफलमा विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्ण पदमार्गका अधिकांस बस्तीमा मोटरबाटो विस्तार भएसंगै पदमार्गको विकल्प खोज्न थालिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) दिपकराज अधिकारीले बताए ।
उनले बस्ती नजिकका पदमार्ग हुदै गन्तब्यसम्म पुग्ने पर्यटकलाई मोटरबाटो विस्तारले यात्रा अवधि छोटिएकोले उनीहरुको नेपाल बसाइ कम हुने र खर्च पनि घट्ने गरेको छ भने । प्रदेश नम्बर ४ नेपालमा सबैभन्दा धेरै पर्यटकीय सम्भावना भएको जिल्ला भएकाले पनि पुराना पदमार्गको संरक्षण, नयाँ पदमार्गको विस्तार तथा प्रचारप्रसार गर्नुपर्नेमा पर्यटन ब्यवसायीले जोड दिएका छन् ।
नेपालमा भित्रिने विदेशी पर्यटक मध्ये ठूलो हिस्सा पर्वतीय र पदयात्रामा जाने पर्यटक भएको बताउँदै पर्यटन ब्यवसायीले पुराना पदमार्गलाई संरक्षण गर्न सकेमा अझै पर्यटकलाई रोक्न सकिने बताएका थिए । मोटरबाटोको पहुँचका कारण नेपालमा खर्च गर्ने योजना बनाएर आएका विदेशीले भारत र थाईल्याण्डमा पुगेर खर्च गर्ने गरेको पाइएको बताउँदै यस्तै भएमा अर्थतन्त्रमा ठुलो असर गर्ने बताइएको थियो ।
सोही अवसरमा विश्वकै पाँचौ अग्लो धौलागिरी हिमाललाई समेटेर तयार गरिएको धौलागिरी आधार क्षेत्रमा पुग्ने पदमार्ग सहज नभएकाले पनि समस्या भएको ब्यवसायीको भनाई छ । पछिल्लो समय अन्नपूर्ण पदमार्गको विकल्पमा कञ्चनजंगा, गणेश हिमाल, मनास्लु लगाएत मोटरबाटोका पहुँचभन्दा टाढा रहेका पदमार्गको खोजी भइरहेको बताइएको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा भएको कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश सांसद विनोद केसीले पर्यटकीयस्थलका जोड्ने पदमार्गको विकल्प मोटरबाटो हुन नसक्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले म्याग्दी भित्रका पर्यटकीयस्थलको प्रचारप्रसारमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ, धौलागिरी गापा–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्याल, टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्य, पर्यटन ब्यवसायी चित्र तिलिजा लगाएतले पर्यटकको वसाइ लम्व्याउन र खर्चदर बढाउन पदमार्ग व्यवस्थित गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, टान पोखराका द्धितिय उपाध्यक्ष विश्वराज अधिकारी लगाएत विभिन्न सरकारी निकायको सहभागिता रहेको थियो । म्याग्दीलाई २०७५ सालमा म्याग्दी भ्रमण बर्ष मनाउने प्रस्तावमा समर्थन गदैं आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत पर्यटन ब्यवसायीले जनाएका छन् । कार्यक्रमको अध्यक्षता जिसस प्रमुख देबेन्द्र बहादुर कटुवाल र सञ्चालन सुचना अधिकृत पदम बहादुर भण्डारीले गरेका थिए ।