आगामी जेष्ठ १८, १९ र २० गते काठमाडौंमा ‘नेपालको अन्तर्राष्ट्रिय यात्रा प्रर्दशनी’ आयोजना हुने भएको छ।
‘द हिमालयन ट्राभल मार्ट’ नाम दिइएको सो प्रर्दशनी विश्वमा नेपाल हिमालय क्षेत्रको ट्राभलको लागि उपयुक्त थलो हो भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो।
हिमालय क्षेत्रको यात्रामार्फत् मुलुकलाई समृद्ध बनाउन द हिमालय ट्राभल मार्ट नामक प्रर्दशनी गर्न लागिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले प्रर्दशनीले हिमालको यात्रा गर्न चाहने विश्वका सबै पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउने विश्वास व्यक्त गरे।
प्रर्दशनीमा भारत, चीन, क्यानडासहित विश्वका ५३ देशका प्रतिनिधिहरु सहभागी हुनेछन्। प्रर्दशनीमा हिमाल आरोहणका विविध आयामबारे जानकारी लिने व्यवस्था मिलाइनेछ।
द्वन्द्व र पछिल्लो समय भूकम्पले कमजोर बनाएको मुलुकमा पर्यटकहरुलाई आकर्षित गर्न पनि प्रर्दशनी फलदायी हुने अपेक्षा गरिएको छ ।