वरिपरि पर्खाल र त्यसमाथि काँडेतारले बारिएको छ, पुरातात्विक सम्पदा ‘कोतगढी’।
यसलाई करिब चौधौं शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ। तर, दैलेखको ‘कोतगढी’ बाहिरबाट झट्ट हेर्दा पर्खालको लस्कर मात्र देखिन्छ। पर्यटकहरू त्यही पर्खाललाई गढीका रूपमा झुक्किन सक्छन्।
दैलेख सदरमुकाम नारायण नगरपालिका–१ मा रहेको यो गढी वरिपरि सरकारी तथा निजी संरचना छन् । ती संरचनाको बीचमा पर्ने भएकाले नजिकै नगएसम्म गढी देखिन्न। नजिक जानेहरूका लागि पनि त्यस वरपर उम्रिएको घाँसले ठम्याउन समय लाग्ने अवस्था छ।
कोतगढी बनावटका हिसाबाले आश्चर्यजनक लाग्छ। कुन बेला, कति सालमा बनेको यकिन छैन।
परापूर्वकालमा पाँच भाइ पाण्डवले सात दिन सात रात लगाएर बनाएको किम्बदन्ती छ। गढीमा १३ चुच्चा र १३ प्वाल छन्। करिब ५० देखि ७० मिटरसम्म फैलिएको छ। करिब १२ फिट अग्लो छ।
झट्ट हेर्दा युद्ध प्रतिरक्षाका लागि निर्माण गरिएको संरचनाजस्तो देखिन्छ। ‘गढीसहित स्थानीय सम्पदाबारे सानैमा सुन्दा दन्तेकथाजस्तो लाग्थ्यो,’ स्थानीय विशाल सुनारले भने, ‘दन्तेकथा सुनेकै आधारमा जान्न खोज्ने हो भने गढी आजभन्दा छ÷सातसय वर्षअघि बनेको भनाइ छ।’
सशस्त्र द्वन्द्व बेला नेपाली सेनाले आफ्नो सुरक्षाका लागि यही गढी प्रयोग गर्यो। अहिले पनि यो सेनाकै मातहत छ। सेना भित्र रहँदा त्यहाँका दुइटा साना भवन भत्काएर बंकर बनाएको थियो। यसले गढीको स्वरुप पहिलेभन्दा बदलिएको स्थानीय गोपाल थापाले बताए।
‘यो गढीभित्र केही हेर्नलायक संरचना थिए, ती संरचना सरकारबाटै भत्काइए,’ थापाले भने, ‘पहिले गढीभित्रै रानीधारा भन्ने ठाउँ जान सुरुङ थियो रे, त्यो पनि पुरिएको रैछ।’
अहिले गढीभित्र सर्वसाधारण जान पाउँदैनन्। गेट बनाएर ताल्चा लगाइएको छ। सशस्त्र द्वन्द्व क्रममा सेनाले कब्जामा लिनुसम्म सर्वसाधारणका लागि खुला थियो। अहिले दैलेख जाने आन्तरिक तथा वाह्य पर्यटकले गढी हेर्न चाहे वरिपरि रहेका कसैको घरको छतमा जानुपर्छ।
नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का स्थानीय तहले चाहेर पनि गढी खुला गर्ने वातावरण मिलाउन नसकेको बताए।
उक्त सम्पदा संघीय सरकार मातहत पर्छ। त्यही भएर स्थानीय तहले केही गर्न नसकेको उनको भनाइ छ। संघीय सरकारसँग छलफल गरेर सर्वसाधारणलाई घुम्न खुला गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
पर्यटकका लागि खुला गरे यो ठाउँ आन्तरिक आम्दानीको स्रोत पनि हुनसक्छ। ‘बदलिँदो परिस्थितिअनुसार हाम्रो पुर्खाको सम्पत्ति हामीलाई दिनु जरुरी छ,’ मेयर खड्काले भने, ‘त्यसरी पाएका सम्पत्ति संरक्षण गर्न नगरपालिका तयार छ।’
नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ गढीलाई सार्वजनिक रूपमा खुला गरी सुन्दर बनाउनुपर्ने बताउँछन्।
गढी वरिपरि कुरुप देखिएका वस्तुलाई फालेर आकर्षक बनाउने र सकेसम्म गढीको इतिहास खुल्ने गरी साइनबोर्ड राख्नुपर्ने उनको सुझाव छ।
कोत गढीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको थियो। नारायण नगरपालिकाले गढीसहित ‘पच्चीस देवल’ समेत सूचीकृत गर्न सिफारिस गरेको छ। सरकारबाट निर्णय आएको छ।
सेनाको नियन्त्रणबाट स्थानीय सरकार मातहत ल्याए गढीमा पर्यटन प्रवर्द्धन गर्न सकिने जनप्रतिनिधिहरू बताउँछन्।