५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमणका लागि आउन कर्णाली प्रदेशवासीलाई निम्तो दिएको छ। सोमबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत् कर्णालीवासीलाई ५ नम्बर प्रदेश सरकारले निम्तो दिएको हो।
५ नं. प्रदेश सरकारले मनाउन लागेको ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ को अवसरमा भ्रमणका लागि निम्तो दिइएको हो। लुम्बिनी भ्रमण वर्ष-२०७६ को प्रचारप्रसार उपसमितिका संयोजक प्रदीप आचार्यले ५ नं. प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश सरकारलाई निम्तो पत्र बुझाएका छन् ।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नारासहित २०७६ लाई ५ नम्बर प्रदेशले लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउन लागेको प्रचारप्रसार उपसमितिका संयोजक आर्चाले बताए। ‘२०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइँदै छ,’ उनले भने, ‘महामानव गौतम बुद्धको जन्म भएको लुम्बिनीमा भ्रमण गर्न र शान्तिको सन्देश लिन लुम्बिनी आउन यो प्रदेश सरकारका मन्त्रीज्यूमार्फत् कर्णालीवासीलाई हामी निम्तो दिन्छौं।’
कर्णाली प्रदेश सरकारले २०७५ लाई रारा–कर्णाली पर्यटन वर्षका रूपमा मनाएजस्तै लुम्बिनी भ्रमण वर्ष मनाउन लागिएकोले कर्णाली प्रदेश सरकारबाट पनि भ्रमण बर्षलाई सफल पार्न सहयोग मिल्ने अपेक्षा गरिएको बताए। हालसम्म वार्षिक १७ लाख पर्यटक भित्रिने लुम्बिनीमा भ्रमण वर्ष २०७६ मा २७ लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले लिएको जानकारी दिए ।
लुम्बिनी भ्रमण वर्षको सफल कार्यान्वयनबाट ५ नं. प्रदेशको मात्र नभइ देशकै पर्यटन उद्योगमा नयाँ अवसर र अवस्था सिजर्न हुने विश्वास लिइएको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् ।
कर्णालीवासीलाई पठाइएको निम्तोसँगै पठाइएको मन्त्री गिरीद्वारा जारी विज्ञप्तिमा ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसाबले पनि लुम्बिनी पर्यटकहरूका लागि महत्वपूर्ण रहेकाले विश्वका डेढ अर्ब बौद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षि गर्न सकिने निश्कर्षका साथ प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउन लागेको उल्लेख गरिएको छ ।
लुम्बिनीलाई ग्रेटर लुम्बिनीका रूपमा विकास गर्दा कपिलवस्तु, नवलपरासीलाई समेत बौद्धमार्गीहरूको आकर्षक गन्तव्यस्थल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ’ विज्ञप्तिमा भनिएको छ, ‘यही विश्वासका कारण २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको रूपमा घोषणा गरेको हो ।’
यो वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत शुक्ल पूर्णिमासम्म भ्रमण वर्षको रूपमा मनाउन व्यापक प्रचारप्रसार गर्ने, आन्तरिक तथा विदेशी पर्यटकहरूलाई आकर्षक गर्ने, यसको विकासका लागि भौतिक संरचना निर्माणदेखि प्रदेशका अन्य आकर्षक पर्यटकीय स्थानसँग जोडेर लैजाने र नेपालीहरूमा पनि भ्रमण संस्कृतिको विकास गर्नेलगायतका महत्पूर्ण कार्यहरू भ्रमण वर्षको अवधिमा गरिने जनाइएको छ ।
भ्रमण वर्षमा मायादेवी प्रसुति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक रूपमा फूल मून डे (पूर्णिमा उत्सव), धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरू गरिने प्रचारप्रसार उपसमितिका संयोजक आचार्यले जानकारी दिए ।
आम्दानीको बलियो स्रोत पर्यटन : मन्त्री बुढा
५ नम्बर प्रदेशले पठाएको निमन्त्रण पत्र ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेश सरकारले पर्यटनलाई नै आर्थिक आम्दानीको बलियो स्रोतका रूपमा लिएको बताए। कर्णाली प्रदेश सरकारले पनि प्रदेशभित्रका पर्यटकीय क्षेत्रको पहिचान गरी तिनीहरूको प्रवर्द्धनका लागि आवश्क कार्यक्रम सञ्चालन गर्ने बताए ।
उनले कर्णाली प्रदेशको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ उपलब्धिमूलक भएको दाबी गरेका छन्। कर्णालीमा रहेका रारासँगै अन्य पर्यटकीय क्षेत्रहरूको पहिचानदेखि यो प्रदेशको व्यापार, व्यवसाय प्रवर्द्धन, पर्यटक भित्रिने वातावरण जस्ता क्षेत्रमा कर्णाली–रारा पर्यटन वर्षबाट उपलब्धि मिलेको मन्त्री बुढाको भनाइ छ ।
उनले केही समयपछि रारामा होटल व्यवसायमा लगानी हुने भन्दै यसबाट पर्यटकलाई सहज हुने बताए। अहिलेका लागि रारा क्षेत्रमा तीन वटा होम–स्टे बनाउन थालिएकोले तत्कालका लागि केही मात्रामा भए पनि पर्यटकहरूलाई सहजता मिल्ने बताए। यसका लागि प्रदेश सरकारले पनि समन्वय गरिरहेको उनले बताए।
मन्त्री बुढाले कर्णाली प्रदेशमा पनि बौद्ध धर्मसँग सम्बन्धित लुम्बिनीजस्तै बौद्ध मार्गहरू उल्लेख्य मात्रामा भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले पहल गर्ने बताए।
५ नं. प्रदेश सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्षको अवसरमा सकेसम्म भ्रमण गर्न उनले कर्णालीवासीलाई आग्रह समेत गरे।