कर्णाली प्रदेश सरकारले प्रदेशको पर्यटन गुरूयोजना बनाउन थालेको छ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पर्यटन गुरूयोजनाको मस्यौदा तयार पारेको छ।
प्रतिस्पर्धी पर्यटकीय उत्पादनहरूको विकास गर्ने, पर्यटकीय गन्तव्य तथा गतिशील अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा कर्णाली प्रदेशलाई स्थापित गराउने, वातावरणीय र संस्कृतिमैत्री पर्यटकीय पूर्वाधारको विकास गर्ने लगायतका उद्देश्यसहित पर्यटन गुरूयोजना बनाउन लागिएको हो।
पर्यटनलाई कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासको औजारको रूपमा विकास गर्ने, पर्यटन विकासका लागि आवश्यक नीति तथा संस्थागत संरचना तथा मानव संशाधनको विकास गर्ने उद्देश्य गुरूयोजनामा समावेश गरिएको छ।
उत्पादन केन्द्रित बजारीकरण पद्धति, सार्वजनिक–निजी–सहकारी साझेदारी, सरोकारवालासँग समन्वय र सहकार्य, वातावरणमैत्री पर्यटन पूर्वाधार, स्थानीय र रैथाने उत्पादनलाई प्राथमिकता, पर्यटकीय क्षेत्रको अवधारणा जस्ता रणनीतिहरू गुरूयोजनामा समावेश छन्।
१० वर्ष अवधिसहितको गुरूयोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू समावेश गरिएको छ। जसमा पहिलो चरण (सन् २०२०–२०२४) सम्म तत्कालीन र मध्यकालीन, दोस्रो चरण (सन् २०२५–२०२९) सम्म दीर्घकालीन योजनाको खाका बनाइएको छ।
मन्त्रालयका अनुसार तत्कालीन र मध्यकालीन योजनाभित्र सुदृढिकरण योजना तर्जुमा, सचेतना फैलाउने, बजारीकरण गर्ने लक्ष्य छ भने दीर्घकालीन योजनाभित्र पूर्वाधारहरूको विशिष्टीकरण, परिमार्जन, विस्तार, स्याहार सम्भार तथा विस्तृत बजारीकरण गर्ने उद्देश्य लिइएको छ।
१० वर्षपछि वार्षिक १७ लाख पर्यटक
कर्णाली प्रदेशभित्र अबको दस वर्षपछि वार्षिक १९ लाख पर्यटक भित्र्याउने लक्ष्य गुरूयोजनामा समावेश गरिएको छ।
सन् २०२९ बाट वार्षिक १५ लाख आन्तरिक तथा २ लाख भारतीय पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्य लिइएको छ। यस्तै, अन्य देशबाट वार्षिक दुई लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्य लिइएको छ। यो वर्ष (सन् २०१९) मा कर्णालीमा साढे चार लाख पर्यटक भित्रिएका छन्।
यसपछि वार्षिक रूपमा कर्णालीमा घुम्न आउने पर्यटकमध्ये आन्तरिक पर्यटक १२ प्रतिशत, भारतीय पर्यटक २७ प्रतिशत र अन्तर्राष्ट्रिय पर्यटक ३९ प्रतिशतले वृद्धि हुँदै जाने अनुमान गरिएको पर्यटन गुरूयोजना निर्माण विज्ञ समूहका संयोजक रामचन्द्र सेडाईले बताए।
यसक्रममा पर्यटन क्षेत्रमा कार्यरत संशाधन १० हजार, पर्यटन उद्यमी १ हजार, पर्यटनका क्षेत्रमा ५० हजार जनालाई रोजगारी, प्रदेशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको पाँच प्रतिशत योग्दान थप गर्ने रणनीतिक लक्ष्य लिइएको सेडाईले जानकारी दिए।
उनका अनुसार गुरूयोजनाभित्र पाँच वटा रणनीतिक पर्यटन क्षेत्रका रूपमा छनोट गरिएको छ। जसमा डोल्पो पर्यटन क्षेत्र, मध्य भेरी पर्यटन क्षेत्र, मध्य कर्णाली पर्यटन क्षेत्र, रारा–जुम्ला–सिंजा–कालिकोट पर्यटन क्षेत्र र हुम्ला–लिमी–हिल्सा पर्यटन क्षेत्र रहेका छन्।
चुनौती र सम्भावना
पर्यटन गुरूयोजना निर्माण विज्ञ समूहका संयोजक सेडाईका अनुसार कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धनका क्षेत्रमा थुप्रै चुनौतीसँग सम्भावना पनि छन्।
खराब मौसमका कारण हिमाीली जिल्लामा भारतीय पर्यटकहरुको संख्या घट्नु, विद्युतको अभाव, महंगी, खाद्यान्न तथा आवासको उचित व्यवस्था नहुनु, ईन्टरनेटको पहुँच नहुनु लगायतका चुनौतीहरु पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्।
यस्तै बजार विस्तार, आवश्यक पूर्वाधारमा पहुँच बढ्दै जानु, मानव स्रोत दक्ष बन्दै जानु, अन्र्तराष्ट्रिय सिमाना जोड्ने गरी सडकको योजना, लगानीमैत्री वातावरण जस्ता विषय पर्यटन प्रवद्र्धनका लागि सम्भावना भएको सेडाईले बताए।