केही दिनदेखि चिसो बढेको छ।
पोखरा क्षेत्रमा हल्का वर्षा भइरहेका बेला क्रपुडाँडामा भने बाक्लो हिउँ परेको छ।
हिमपात भइरहेको भिडिओ देखाएर मादी गाउँपालिकाले पर्यटन वर्ष २०२० को अवसरमा पर्यटन महोत्सव आयोजना गर्ने घोषणा गर्यो।
गुरूङ भाषामा क्रपु भनेको शिर हो।
यो डाँडा मादी गाउँपालिका -२ कास्कीको पर्यटकीय ताङतिङ गाउँको शिरमा पर्ने भएकाले यो ठाउँको नाम नै क्रपुडाँडा हुन पुगेको स्थानीय बताउँछन्।
समुन्द्री सतहदेखि तीन हजार ८५ मिटरभन्दा बढी उचाइमा रहेको यो ठाउँमा पुग्न नजिकको बस्ती ताङतिङबाट तीन घण्टा हिँड्नुपर्छ।
गाउँमा पर्यटन प्रवर्द्धन गर्न भ्रमण वर्षको अवसर पारेर मादी गाउँपालिकाको ४० औं बैठकले २५१ सदस्यीय आयोजक समिति र १०१ सदस्यीय सल्लाहकार समिति गठन गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले सेतोपाटीलाई बताए।
अन्नपूर्ण हिमश्रृङ्खला र माछापुच्छ्रे माात्र होइन। यो डाँडाबाट धौलागिरिदेखि मनास्लुसम्मका हिमश्रृङ्खला देख्न सकिने अध्यक्ष गुरुङ बताउँछन्।
अहिले परिरहेको हिउँ वैशाखसम्मै रहने र त्यतिबेला रंगीचंगी लालिगुराँस समेत फुल्ने भएकाले वैशाख १– १० सम्म पर्यटन महोत्सव आयोाजना गरेको उनले जानकारी दिए ।
उक्त स्थानमा पर्यटकको सुविधाका लागि क्याम्पिङ साइड बनाउन पुगेका स्थानीय युवा हिमपातका कारण फर्कनु परेको स्थानीय बासिन्दा हिमाल गुरुङले बताए।
अहिले क्रपुडाँडासम्म मोटरबाटो पनि पुगेको छ।
‘गुरुङ जातिको आदिमथलो क्होलासोंथर, मनाङ निस्कने नामुनभञ्ज्याङ, कोरी, दुधपोखरी लगायतका स्थानमा जाने बाटो पर्ने क्रपुडाँडामा क्याम्पिङसाइड बनाउन सके पर्यटकलाई सुविधा पुग्छ,’ उनले भने, ‘एक रात जसरी पनि बास बस्नै पर्ने भएकाले पनि यो ठाउँमा क्याम्पिङ साइड चाहिन्छ।’
क्रपुडाँडामा गुरुङ जातिको आदिम थलो क्होलासोंथरका कर्मचारी कर उठाउन बस्ने घरको भग्नावशेष अहिले पनि देख्न सकिन्छ। त्यसलाई अहिले स्थानीयले दरबार भन्ने गरेका छन्।
महोत्सव मूल आयोजक समिति र सल्लाहकार समितिको शनिबार ताङतिङमा बसेको बैठकले गाउँपालिका अध्यक्ष गुरुङले पेश गरेको कार्ययोजना पारित गरेको छ।
कार्ययोजनामा हिउँमा स्केटिङ गर्ने, माउण्टेन बाइक रेस, स्थानीय सँस्कृति झल्कने साँस्कृतिक प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, प्याराग्लाइडिङ, छेलो, म्याराथुन दौड लगायतका कार्यक्रम गरिने उल्लेख छ।
सांसदसमेत रहेका महोत्सवका सल्लाहकार संयोजक खगराज अधिकारीले गाउँपालिकाले अहिले चलिरहेको मेला महोत्सब भन्दा फरक ढंगले आयोजना गरेको भन्दै प्रशंसा गरे।
‘पोखराबाट दुई/तीन घण्टाको बाटोमै लालिगुराँससँग बात मार्दै हिउँको आनन्द लिन मन छ भने ताङतिङ आउनुस्, क्रपुडाँडा जानुस्,’ उनले भने, ‘प्रकृति र विविधता मात्र होइन, संस्कृति हेर्न पनि यहाँ आउनैपर्छ।’
गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले प्राकृतिक विविधता र संस्कृतिलाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उत्पादन बढाउन जोड दिए।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले विकासका अभियानमा सबै एकतावद्ध भएर लाग्नुपर्ने बताए।
विश्लेषक झलक सुवेदीले सबैलाई फाइदा पुग्ने गरी आर्थिक अभियान थाल्नुपर्ने बताए।
कास्कीको सिक्लेस–ताङतिङ– नामुनभञ्ज्याङ हुँदै डाँफे भञ्ज्याङ र मनाङको तिमाङ निस्कन सकिन्छ।
यो पदमार्ग झण्डै २० वर्षअघिसम्म चलेपनि अहिले रोकिएको छ। सिक्लेस– ताङतिङ– लमजुङको सिङ्दी– पसगाउँ– भुजुङ हुँदै घलेगाउँ जाने गुरुङ सम्पदा पदमार्ग सञ्चालनको तयारीमा छ।
ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले नयाँ पदमार्गका रूपमा यस क्षेत्रमा काम गरिरहेको बताए।
‘पदयात्रा भन्ने वित्तिकै अन्नपूर्ण र सगरमाथा क्षेत्रलाई मात्र बुझ्ने परम्परालाई चिर्न जरुरी छ,’ उनले भने, ‘हामीले मादी गाउँपालिकाको लेक समेटेर नयाँ पदमार्ग प्रवर्द्धन गर्दैछौं।’