निर्मल पुर्जासहित नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुको हिउँदयाममा सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्।
पाकिस्तानमा रहेको ८६११ मिटर उचाईको विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुगेका थिएनन्।
आठ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये यो हिमालमा मात्रै आरोहीहरू हिउँद पुग्न सकेका थिएनन्।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ बजेर ४५ मिनेटमा ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका हुन्।
दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले बिना अक्सिजन आरोहण गरेका छन्। सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए।
चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए।
२१ डिसेम्बरमा आधार सिविरतर्फ टोली प्रस्तान गरेको थियो।
गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा केटु आरोहणको प्रयास गरेका थिए । तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए ।
पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म जम्मा तीन सय ६ जनाले माउन्ट केटुको सफल आरोहण गरेका छन् । आरोहण क्रममा ८४ जनाको मृत्यु भएको छ।
माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकिले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।
माउन्ट केटु आरोहणमा निस्केको नेपाली टोलीका सदस्यहरूले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटै शिखर आरोहण गरिसकेका छन् । सन् २०१२, २०१४, २०१८ र २०१९ मा छाङदावाकै नेतृत्वमा गृष्म ऋतुमा केटुको पनि सफल आरोहण भएको थियो ।