नेपाल पर्यटन बोर्डले नेपालको पर्यटकीय भौगोलिक सूचना प्रणाली(जिआइएस) विकास गर्ने भएको छ। नेपालमा पर्यटन प्रबर्द्धनको जिम्मा पाएको बोर्डले यसका लागि त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागसँग सहकार्य गर्ने छ।
पाँच करोड लागतमा विकास हुने अनुमान गरिएको यो प्राणालीमा नेपालका पर्यटकीय गन्तव्य, पूर्वाधार र विशेषतासहितको विस्तृत विवरण समावेश हुने छ।
पर्यटकीय सेवा दिने कम्पनीदेखि हिमालका विवरसम्मका तथ्यांक एउटै माध्यममा उपलब्ध गराउनेगरी प्रणाली विकास गर्न खोजिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले जानकारी दिए।
'पर्यटनसँग सम्बन्धित नीति निर्माण र बजारीकरणका लागि प्रडक्ट तयार पार्दासम्म आवश्यक हुने न्यूनतम तथ्यांकको पनि अभाव छ अहिले। यस्तोमा अनुमानको भरमा गुणस्तरीय गन्तव्य पनि तयार हुँदैन र त्यसको बजारीकरण पनि हुँदैन। त्यसैले हामीले यो प्रणाली बनाउन लागेका हौं' रेग्मीले सेतोपाटीसँग भने।
नेपालमा सगरमाथा,पोखरा र लुम्बिनी बाहेक अरु ठाउँमा कहाँ के आकर्षण छ, त्यस्तो ठाउँमा पूर्वाधारको अवस्था के छ भन्ने जानकारीसमेत नहुँदा वर्षौदेखि सिमित गन्तव्यको मात्र प्रबर्द्धन भइरहेको रेग्मीको बुझाइ छ।
'टाढाको कुरै नगरौ। यहाँ काठमाडौं आसपासमा कतिवटा हाइकिङ रुट छन्। काठमाडौंमै पनि सम्पदाहरु के कस्ता छन् र तिनको विशेषता के हो भन्ने कुरा न त बोर्डलाई थाहा छ न एजेन्सीहरुलाई। यस्तो अन्यौलका कारणले हामीले कहिलै पनि नयाँ आकर्षणको प्रवर्द्धन गर्न सकेनौं' उनले भने।
बोर्डले तयार पार्न लागेको प्रणालीमा नेपालका हिमाल,पहाड, चरा, नदी तथा अन्य आकर्षणको विवरण हुने छ। कूल ४४ प्रकारका लेयर हुने रेग्मीले जानकारी दिए। यसमा लेयरहरु थपिंदै जाने छन्।
यो प्रणालीको विकासबाट दुई फाइदा हुने रेग्मीको भनाइ छ।
'पहिलो फाइदा त यसबाट सरकारलाई नीति निर्माणकै लागि हुने छ। अहिलेसम्म जसरी अनुमानको भरमा नीति निर्माण तथा बजेट विनियोजन हुँदै आएको त्यसको अन्त्य हुन्छ। प्रणालीको विकास भएपछि कुनै आकर्षक हिमालमा नयाँ पूर्वाधार निर्माणमा सरकारले बजेट विनियोजन गर्न सक्छ। उपलब्ध सूचनाका आधारमा निकै सम्भावना बोकेका ठाउँलाई प्राथमिकताकरण गर्न पनि सजिलो हुने छ' उनले भने।
त्यस्तै यसबाट गन्तव्यको विकास र नयाँ प्याकेज बनाएर प्रबर्द्धन गर्नका लागि बोर्ड र व्यवसायीलाई सहयोग पुग्ने उनको भनाइ छ। नेपालमा भएका फिसिङ स्पट, चरा पाइने ठाउँ, वाइल्डलाइफ जस्ता स्पटहरुका बारेमा त्यसको विस्तृत प्याकेज बनाउन सजिलो हुने उनको भनाइ छ।
'जस्तो नेपालमा धेरै चराहरु पाइने कहाँ कहाँ छन्। तिनको प्रकृति के हो। कतै नेपालमामात्र पाइने चराहरु हुने ठाउँ त छैन? यदि त्यस्तो ठाउँ रहेछ भने त हामीले विश्वभर नै हट गन्तव्यको रुपमा विकास गर्नसक्छौं। त्यस्तै नेपालमा गुमनाम सम्पदा, गढी किल्लाहरुको विवरण आएपछि बजारीकरण गर्नसकिन्छ' उनले भने।
पर्यटनको बजारीकरण गर्ने जिम्मा पाएको बोर्डले तथ्यांक प्रणाली बनाउन लागेको भन्दै यसबारेमा आलोचना पनि भइरहेको छ। तर रेग्मी भने ऐनले नै बोर्डलाई वातावरण संरक्षणमा समेत काम गर्न भनेको बताए।
'ऐनमा बोर्डको उद्देश्य केवल प्रबर्द्धनमात्र भनेको छैन। सुरु जिम्मेवारी प्रबर्द्धन हो। त्यसपछि कयौं उद्देश्य छन्। यस्तै उद्देश्यमा रहेर हामीले यो प्रणाली विकास गर्न लागेका हौं' उनले भने।