कोरोना भाइरसविरुद्धको खोप प्राथमिकताका आधारमा उपलब्ध गराउन पर्यटन क्षेत्रका ट्रेड युनियनले माग गरेको छ।
स्वास्थ्य मन्त्रालयमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले जोखिमपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेका हुन् ।
बसन्त ऋतुको आगमनसँगै नेपालमा पर्यटक चहलपहल बढ्ने समय भएकाले यस क्षेत्रमा सक्रिय जनशक्तिलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।
कोरोनाका कारण लामो समयदेखि ठप्प भएको पर्यटन क्षेत्रलाई सहज हुने अवस्था देखिएकाले यसमा खटिने जनशक्तिलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पर्यटन क्षेत्रका श्रमिकहरु देशका विभिन्न जोखिमपूर्ण क्षेत्रमा पुग्नुपर्ने अवस्था भएकाले उनीहरुलाई यथासक्य खोप उपलब्ध गराउनुपर्ने भनिएको छ । करिब २० हजार पर्यटन श्रमिकहरु पद यात्रा पथ प्रदर्शक, पर्वतीय पथ प्रदर्शक, कुक, सहयोगीहरु र भरीयाहरुसहित परिचालन हुने भएकाले उनीहरुलाई सम्भावित जोखिमबाट बचाउन आग्रह गरिएको छ ।
अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ, समाजवादी पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।