चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ।
गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो।
गत वर्षदेखि निर्माण सुरू भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ।
निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई आज मिनी ग्रेटवालको भ्रमण गराएको छ।
क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालिम सञ्चालन भइरहेको छ।
तालिममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन सो ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरूङले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताए। बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन्। ‘बन्दीपुरमा नयाँ-नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौं, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि बजेट सहयोग गरेको छ’, उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उनले बताए।
उनका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।
गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु ३० लाखको काम भइरहेको छ।
‘पर्यटन मन्त्रालयको बजेटबाट सुरूआती बिन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रूप दिने तयारी गरेका छौं’, उनले भने।
कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ।
गुरूयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको अध्यक्ष थापाले बताए। यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिने छ।
मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो। यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ।
पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन्।
पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको संख्या अझै बढ्ने अनुमान छ।रासस