सन् २०१९ को वसन्त यामको सगरमाथा आरोहणमा आरोहीको ट्राफिक जामको खबरले नेपालसहित विश्व चर्चित सञ्चार माध्यममा छायो। मे २१ तारिखका दिन सगरमाथामाको चुचुरो नजिक भएको उक्त विषयलाई विश्वका चर्चित बीबीसी, सीएनएनलगायत मिडियाले हेडलाइन बनाए, सगरमाथामा आरोहीको लस्करै भीडको फोटोसहितका सामग्री राखेर सामाजिक सञ्जाल पनि रङ्गीए। सरकारी छानबिन समितिले सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकाल्यो।
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो। यतिखेर सन् २०२१ को वसन्त आरोहण उत्साहबर्धक रूपमा चलिरहेको छ। कोभिड महामारीको जोखिमबीच भइरहेको यस आरोहणबाट पनि विश्वभर चर्चा चुलिएको छ। भलै प्रतिकूल मौसमका कारण केहिदिनयता सगरमाथासहितका हिमाल आरोहण प्रभावित भएको छ।
उल्लेख्य संख्याका आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा पर्खिरहेका छन्। पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम विगत चार दिनदेखि बिग्रिएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवातले थप कमजोर हुँदै उत्तर पूर्वतिर अगाडि बढेको र यसको प्रभाव रहेको छ। सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यही २२ र २३ तारिखको सगरमाथा आरोहणका लागि करिब ३०० आरोही आधार शिविरभन्दा माथितिर बिच बाटोमा छन्। अहिले सगरमाथा आधार शिविरमा सगरमाथा, ल्होत्से र नुप्से गरी तीन हिमाल आरोहणका लागि स्वदेशी तथा नेपाली गरी झण्डै ७०० आरोही प्रतिक्षारत छन्।
कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी अफ्नै कीतिमान तोडनुभयो। सगरमाथाको २६ औँ पटक चुचुरो चुम्ने अभियानमा हुनुहुन्छ। यस यामको आरोहण निकै रोचक र विशिष्ठ प्रकृतिको छ। किनकि, विशिष्ठ विदेशी पाहुनाले सगरमाथा आरोहण गरेका छन्।
बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो। बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेका छन्। विश्वकीतिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन्।
यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ। वसन्त यामको सगरमाथा आरोहण वैशाख २४ देखि शुरु भयो। कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा टोलीले सगरमाथाको चुचुरोमा पुगेर डोरी टाँग्ने (रोप फिक्सिङ) सँगै सगरमाथाको व्यवसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।
गजबको संयोग के छ भने दुईवर्ष अघिको सगरमाथा आरोहणमा आरोहीको जामको विषय चर्चित बन्यो भने यस पटकको सगरमाथा आरोहणमा हालसम्मकै सर्बाधिक आरोही समूहलाई आरोहण अनुमति(एक्सिपिडिसन पर्मिट) दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सगरमाथाका लागि सर्बाधिक ४३ आरोही समूहका लाई आरोहण अनुमति दिएको छ। यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो।
पर्यटन मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन्। वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाख भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। सगरमाथाबाट मात्रै ६६ करोड बढी रोयल्टी जम्मा भएको छ
यसले महामारीको असज परिस्थितिमा पनि नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको र नेपालका हिमाल तथा पदयात्रा सुरक्षित छन् भन्ने सन्देश विश्वबजारमा प्रबाह भएको छ। यसैपनि सगरमाथा आरोहण आफैमा जोखिम र संवेदनशील विषय हो। महामारीको जोखिम मोलेर अदम्य साहसका साथ नेपालसहित विभिन्न मुलुकका साहसी आरोही गन्तव्य चुम्न लम्किएका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६८ वर्ष पूरा भएको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ (हाल नयाँ उचाई कायम भएको ८८४८.८६) मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो।
सन् २०२० को वसन्त यामको सगरमाथा आरोहण रोकिदा पर्वतारोही निरास भएका थिए भने नेपालको पर्वतीय पर्यटनलाई असर पुगेको थियो। त्यसअघि सन् २०१४ र २०१५ को वसन्त आरोहण विगतमा हिम पहिरो र भूकम्पका कारण दुई वर्ष अबरुद्ध भएको थियो। महामारीका बीच यसवर्ष वसन्त याममा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिन लालाहित छन्।
सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २५ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। अप्पा शेर्पाले २१ पटक तथा अन्य कीतिमानी आरोहीले नयाँ रेकर्ड बनाएका छन्।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म ६ हजार ५०७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। हालसम्म सगरमाथा आरोहण गर्ने महिला मात्र ४७१ जना पुगेका छन्। सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो। सन् २०१९ को मे २७ मा ताइवानी आरोही चिएयो छुङ सगरमाथा आरोहण गर्ने अन्तिम महिला लिस्टमा परेकी छन्। सन् २०१९ मा आरोही तथा सहयोगी शेर्पा सहूहगरी ५४४ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। यसमा २८० आरोही तथा ३६४ सहयोगी छन्। सन् २०१८ मा २८२ आरोही तथा २९८ सहयोगी गरी ५६० ले सगरमाथा आरोहण गरे भने सन् २०१७ मा १९८ आरोही तथा २२७ सहयोगी गरी कुल ४२६ ले सगरमाथाको शिखर यात्रा पुरा गरेका छन्
सगरमाथा आरोहण जोखिमपुर्ण र संवेदनशील यात्रा हो। यस जोखिमपूर्ण आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन्। एक तथ्याङक अनुसार हालसम्म ३०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन्। पहिलो नेपाली महिला आरोही पासाङ ल्यामु शेर्पादेखि ८२ वर्षको वृद्ध उमेरमा पनि युवा जोशका साथ पूर्वपरराष्ट्रमंत्री शैलेन्द्रकुमार उपाध्यायले सगरमाथा आरोहण गर्ने प्रवल इच्छा राखी सगरमाथामै आफनो जीवन उत्सर्ग गर्नु भएको छ। प्रथम महिला आरोही जापानकी जुन्को ताबेई, प्रथम महिला नेपाली आरोही पासाङल्हामु शेर्पा, कृत्रिम अक्सिजनबिना आरोहण गर्ने फ्रान्सेली नागरिक राइनहोल्ड मेस्नर, कृत्रिम खुट्टाको प्रयोगले आरोहण गर्ने नवाङ शेर्पाको र पहिलो दक्षिण एसियाली महिला पत्रकार शैली बस्नेतको कीर्तिमान र अदम्य साहसको नेपाल र विश्व समुदायले सधैं कदर र सम्मान गर्नैपर्छ। यी विदेशी र नेपाली आरोहीले सगरमाथालाई विश्वमा चिनाउन तथा नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ।
सगरमाथाले करिब सात दशकको अवधिमा नेपाललाई यथेष्ट नाम र दाम दुवै दिएको छ। जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरप्रति गम्भीर भई सचेतना अपनाउनुपर्ने आवश्यकता छ।। विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमालका हिउँ पग्लिदै गइ हिम पहिरो जाने र हिम तालहरु फुटने खतराप्रति नेपालले अन्तराष्ट्रियक्षेत्रबाट सहयोग प्राप्त गरी दीर्धकालीन योजनाका साथ अघि बढनुपर्छ।
जलवायु परिवर्तनको नकारात्मक असर रोक्न नेपालको मात्र एक्लो प्रयासबाट असम्भव छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा पहल गरी प्राप्त सहयोगलाई सरकारले सदुपयोग गरी दीर्घकालीन योजना तर्जुमा गरी सगरमाथाको जैविक र प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्नुपर्छ। अन्तर्राष्ट्रिय जगतको प्रतिबद्धता र सामूहिक प्रयासबाट नै सगरमाथा लगायतका नेपालका अन्य हिमशृङ्खलाको वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षण हुनुपर्छ, जुन हिमाली जनताको जीविका, नेपालको दीर्घकालीन साहसिक र पर्वतीय पर्यटन विकासका लागि अपरिहार्य छ। यती तथ्यलाई आत्मबोध गर्दै नेपाल सरकारले सन् २०१९ देखि सगरमाथासहितका हिमाल सरसफाई अभियान सञ्चालन गरिरहेको छ।
यतिखेर सगरमाथाको आधार शिविरमा माइनस (आठ डिग्रि हाराहारीको) तावक्रमको प्रवाह नगरी आरोही अनुकूल मौसमको प्रतिक्षरत छन्। कतिपय आरोही बिच बाटमोमा छन्। समुद्री सहतहदेखि पाँच हजार ३०० मिटर उचाईमा पर्ने खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर रङगी चङ्गी पालले भरिभराउछन्। यस पटक विभागले आधार शिविरमा चिकित्सकको टोली पनि पठाएको छ।
कोभिड–१९ महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायमा आशाको सञ्चार जगाएको छ। सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने अनुमान गरिएको छ। एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ। रासस