भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित गुण्डुको घ्याम्पेडाँडा रानीकोटस्थित जिप लाइनमा हुनसक्ने सम्भावित घटनाबारे आरएनए १६ नेपालका संयोजक अरूण सैंजुसहितको टिमले कर्मचारीलाई तालिम दिएको छ।
साहसिक खेलका रूपमा परिचित जिपलाइन सञ्चालनको क्रममा हुनसक्ने सम्भावित घटना र जोखिम न्यूनिकरणका लागि कर्मचारीलाई तालिम दिइएको सैंजुले जानकारी दिए।
ओहायो स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले पत्ता लगाएअनुसार जिप लाइनको लगभग १२ प्रतिशत चोटहरू खसेर र लडेर हुने गर्छन्। यसै स्रोतलाई मध्यनजर राख्दै जिपलाइन र रोप साइकलिङ गर्दा कुनै व्यक्ति खसेमा वा तारमैं अड्किएमा कसरी सहि तरिकाले उद्धार गर्ने भन्ने प्रशिक्षण दिइएको थियो।
प्रशिक्षणमा डमीको प्रयोग गरिएको थियो। डमी तारबाट खसेपछि डोरी लगाएर उद्धार गरिएको थियो।
रानीकोट गढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर साहसिक खेल सञ्चालन गरिन लागेको हो।
तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहनेहरुका लागि यसले भरपुर मनोरञ्जन दिने सञ्चालकले विश्वास लिएका छन्।
पदमार्ग, साइक्लिङ, मनोरम हिमाल दृष्यावलोकन, घुमफिर आदिको लागि प्रसिद्ध यो क्षेत्रमा जिपलाइन, स्काई साइकल, क्यानोपी स्काई साइकलको संचालन पश्चात आन्तरिक तथा वाह्य पर्यटकहरु थप आकर्षित हुने सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष किरण थापाले बताए। यसले समग्र भक्तपुरको पर्यटन उद्योगमा सकारात्मक असर पार्ने विश्वास लिएको पनि उनले बताए।
हेर्नुहोस् केही तस्बिरहरू