कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड।
छेउछाउमा जाँदा आङ नै सिरिंग हुने भिर छ। वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारि छ पर्वतको सदरमुकाम कुश्मा बजार। यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड।
यही भिर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ। लाग्थ्यो, भिर कहिलै कसैको रोजाइँ पर्दैन। पहिले घाँस दाउराका लागिसमेत नजिक पर्न नसकिने भिर अहिले साहसिक घुमघामको थलो बनेको छ। बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन्। तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन्।
‘द क्लिफ’ले एक वर्षयता बलेवा र कुश्मा जोडेर बनाइएको पुलमा साहसिक खेल बञ्जी गराइरहेको छ।
संसारकै दोस्रो स्वीङ पनि यहीँ छ। बञ्जी र स्वीमिङ गर्न आउनेको भीड त थामिनसक्नु छँदैछ। त्योभन्दा धेरै ‘द क्लिफ’ले बनाएका अन्य साहसिक संरचना छन्।
बागलुङ नगरपालिका–१४ नारायणस्थानको नेपानेमा २१ रोपनीमा क्लिफका संरचना फैलिएका छन्। लठ्ठे पिङ, ‘स्काइ चियर’ र कृतिम हत्केला, अत्यासलाग्दो भिरमाथि भर्याङको सहायताले रूखमा चढ्ने खेल नेपानेमा देखिने संरचना हुन्।
कालीगण्डकीको किनारदेखि झण्डै ४०० मिटर अग्लो पहाडमाथि बनेको लठ्ठे पिङ।
मेसिनको सहायताले माथि तानेर हुत्याउँदा कालीगण्डकीको बहावमाथि पुगेजस्तै लाग्छ। त्यही पिङ खेल्न नेपाने पुग्नेहरूको ठूलो लर्को लाग्ने गरेको ‘द क्लिफ’का अध्यक्ष राजु कार्की बताउँछन्।
यो पिङ खेल्नका लागि बालबालिकादेखि युवायुवतीको आकर्षण छ। पिङ खेलेको मात्रै रु १५० शुल्क लाग्छ। बञ्जीको क्षेत्रमा पुगेका जो कोही पिङ खेल्न इच्छुक छन्। गुलेलीले मट्याङ्ग्रा हुत्याएझैं पिङमा मान्छे हुत्तिने गरेका छन्। सबै सुरक्षाका साधन प्रयोग भएकाले दुर्घटनाको जोखिम भने छैन।
नेपानेको ढिकमा एउटा कुर्सी बनाइएको छ। विद्युतीय मोटरको सहायताले कुर्सीमा बसेपछि आकाशमा घुम्छ। ‘स्काइ चियर’ नाम दिइएको कुर्सीमा जोडी बसेर चिया खाजा खानेहरूको कमी छैन। युवादेखि वयस्क र वृद्धवृद्धासम्म स्काइ चियरमा बसेर चिसोतातो पिउनकै लागि त्यहाँ पुग्ने गरेको कार्की बताउँछन्।
‘बञ्जीका लागि यहाँ आएको हो, पिङ पनि खेल्न मन लाग्यो, कस्तो डरलाग्दो तर निकै आनन्द आयो’ चितवनको भरतपुरबाट बलेवा आएका विश्वास पोखरेलले भने, ‘यहाँ घुम्दा मज्जा आइरहेको छ, भोलिसम्म यहीँ बस्छौं।’
यहाँ बनिरहेको हत्केलाको आकृतिमा पनि कालीगण्डकीको पानीमाथि बसेजस्तै गरी तस्बिर खिच्न सकिन्छ। क्लिफका मनोरञ्जनका साधन प्रयोग गर्दा आकाशमै पुगेको अनुभूति हुनेगरेको पोखरेलले बताए।
‘स्काइ चियर’ ले बञ्जी क्षेत्रको थप सोभा बढाएको छ। ‘द क्लिफ’ले नेपाने नजिकै कालीगण्डकीले खोँच बनाउँदा छोडेको पहाड र प्रकृतिको प्रयोग गरेर मानिसलाई विचरण गराइरहेको छ। बञ्जी, स्वीङ गर्न आउनेका लागि खाना बस्नको लागि सुविधा सम्पन्न रिसोर्ट समेत नेपानेमा छ।
साहसिक पर्यटनको रूपमा लिइने बञ्जी महँगो ठान्नेले पिङ, ‘स्काइ चियर’, हत्केला र हल्लिने भर्याङको बाटो रूख चढ्ने खेल रोज्ने गरेका छन्।
कोरोना महामारीले थला परेको व्यवसाय विस्तारै तङ्ग्रिएसँगै संरचनासमेत थप भइरहेका अध्यक्ष कार्कीले बताए।
यहाँ निजी क्षेत्रको झण्डै रु २५ करोड लगानी भएको छ। बञ्जीका लागि बनाइएको झोलुंगे पुल फरक प्रकृतिको छ। नजिकै रहेको यान्त्रिक पुल, त्योभन्दा केही पर रहेको झोलुङ्गे पुल तर्नेभन्दा निश्चित शुल्क तिरेर बञ्जीको पुल तर्नेहरूको कमी छैन।
यहाँ निजी क्षेत्रको लगानीमा बनेका संरचनाकै कारण सिरुको बगर भनेर चिनिने नेपानेले मुहार फरेको छ भने यहाँका अन्य आर्थिक क्षेत्रलाई समेत चलायमान गराइरहेको ‘द क्लिफ’ सञ्चालक समितिका सदस्य नेत्र पराजुली बताउँछन्। (रासस)
–––