शरद ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ।
पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ।
सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ।
दुबै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार रूपैयाँ सलामी दस्तुर संकलन भएको छ।
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ। यो याममा उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन्।
कोभिड-१९ महामारीको जोखिमबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन्।
अघिल्लो वर्षको सो याममा महामारीबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य संख्यामा आरोहण भएको विभागले जनाएको छ।
अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै संख्यामा स्वदेशी तथा विदेशी गएका थिए। रासस