फेवातालमा २० वर्षदेखि डुङ्गा चलाउँदै आएकी तारा विकलाई दसैं अघिदेखि नै भ्याइ–नभ्याई छ। पोखरा घुम्न आएका नेपालीलाई डुङ्गा चढाएर बाराही मन्दिर लैजान होस् या ताल घुमाउँदा दिन बितेको उनलाई पत्तो हुँदैन। नेपाली पर्यटकलाई डुङ्गा चढाउँदै उनले भनिन्, ‘बल्ल डुङ्गाले काम पाएको छ, बोल्ने फुर्सद पनि छैन।’
कोरोना भाइरसको महामारी आउनुअघि पर्यटकीय सिजनमा उनको व्यवस्तता यस्तै हुन्थ्यो। गत वर्षको दसैं सिजनभन्दा यसवर्ष धेरै नेपाली पोखरा घुम्न आएको व्यवसायीले बताएका छन्। डुङ्गा व्यवसायी समितिका सचिव रूद्र भुजेलका अनुसार बाराही घाटका डुङ्गाले यतिबेला पुरा क्षमतामा काम पाएका छन्।
फेवाताल घुम्ने विभिन्न घाटमध्ये बाराही घाटमा सबैभन्दा धेरै डुङ्गा छन्। बाराही मन्दिर घुम्न जानेहरू यहीँ घाटबाट जान्छन्। बाराही घाटमा मात्र अहिले ३५६ वटा डुङ्गा राखिएको छ। भुजेलका अनुसार यी सबै डुङ्गाले अहिले काम पाइराखेका छन्।
‘पहिले पहिले एउटा डुङ्गाको पालो आउन हप्तादिन सम्म कुर्नुपथ्र्यो,’ भुजेलले भने, ‘दसैंको पूर्णिमाका दिन त दोब्बर, तेब्बर काम पाएँ।’
नेपालीको पहिलो रोजाई पोखरामा डुङ्गा मात्र होइन, प्याराग्लाइडिङ गर्नेको पनि यतिबेला चाप बढेको छ। अहिले दैनिक ४ सयले प्याराग्लाइडिङ गरिरएको नेपाल हवाई खेलकुद संस्थाका सदस्य शर्मिला शर्माले बताइन्। गत वर्ष पोखरामा प्याराग्लाइडिङ गर्नेको घुइँचो बढेको थियो। गत वर्षभन्दा यस वर्ष धेरै नेपाली प्याराग्लाइडिङ गर्न आउने शर्माले विश्वास लिएकी छिन्।
पोखरामा अहिले ६० वटा प्याराग्लाइडिङ कम्पनी छन्। जसमा ३५० जना प्यारापाइलट काम गर्छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्देशन अनुसार अहिले पोखराका प्याराग्लाइडिङ थप सुरक्षित बनाएको शर्माले बताइन्।
लकडाउनमा बन्द भएको प्याराग्लाइडिङ असोज १५ गतेदेखि मात्र खुलेको थियो। खुलेको १५ दिनमै प्याराग्लाइडिङ व्यवसायले उडान भरेको छ। ओपन स्काई प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट समेत रहेकी शर्माले भनिन्, ‘प्याराग्लाइडिङ गर्न आउने पर्यटकका लागि थप सेफ्टी, सेक्युरिटी र इन्सुरेन्सको व्यवस्था गरिएको छ।’
दसैंको मौकामा घुम्न आउने नेपालीका कारण पोखराका होटल र रेष्टुरेण्ट व्यवसायी पनि उत्साही बनेका छन्। होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष लक्षमण सुवेदीले पोखराका होटल आधा भरिएको बताए।
पोखरामा अहिले पर्यटकस्तरका झण्डै ७ सय होटलमा ३० हजार बेड छन्। पोखरामा मात्रै होइन, मुस्ताङ र अन्नपूर्ण क्षेत्रमा पदयात्रा जाने पर्यटकका कारण पनि पोखराका होटलले व्यापार पाएका हुन्।
हानका अध्यक्ष सुवेदीका अनुसार अहिले पोखरा घुम्न आएका पर्यटकमा ८५ प्रतिशत नेपाली छन्। १० प्रतिशत भारतीय र ५ प्रतिशत अन्य देशका पर्यटक छन्। अहिले जस्तै नेपालीलाई घुम्न प्रोत्साही पार्न सके पोखराका पर्यटन बजार चलायमान बन्नसक्ने सुवेदीले बताए।
पदमार्गमा नेपालीको घुइँचो
बागलुङकी सावित्री खड्का दसैंको ठिक अघि अन्नपूर्ण आधार शिविर पदयात्रा पुरा गरिन्। यसअघि ढोरपाटन, मुस्ताङलगायतका क्षेत्र घुमिसकेकी सावित्री पहिलो पटक अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेकी थिइन्।
अन्नपूर्ण पहिलो (८०९१ मि.) हिमालको फेदीमा पुगेकी सावित्रीले ५ दिने पदयात्राका क्रममा धेरै नेपाली भेटेको बताइन्। ‘हामी जाँदा अलि कम थियो, फर्कँदा त बाटोमा नेपालीको हुल नै भेटियो,’ उनले भनिन्, ‘अलिअलि विदेशी पनि थिए।’
सरकारले नेपाल घुम्न आउने विदेशीका लागि स्वास्थ्य मापदण्ड खुकुलो बनाएपछि थोरै भए पनि विदेशी पर्यटक भित्रन थालेको व्यवसायीले बताएका छन्। पोखरास्थित इथिकल टुर एण्ड ट्राभल एजेन्सीका सञ्चालक कृष्ण आचार्यले यो सिजनमा २ वटा विदेशी समूहलाई उपल्लो मुस्ताङ पठाएको बताए।
यस्तै, अन्नपूर्ण फेरो पदयात्राका लागि विदेशीका समूह लमजुङको बेसीशहरदेखि मनाङहुँदै थोराङ–ला पास गरेर मुस्ताङ जानेको समूह पनि अहिले पदयात्रामा छन्। नेपाली पदयात्रीलेसमेत अहिले ट्रेकिङ एजेन्सीसँग ‘टुर प्याकेज’का लागि सम्पर्क गर्न थालेको आचार्यले बताए।
नेपाली पदयात्रीले गर्दा अहिले पदमार्गमा रहेका होटल पनि चलायमान बनेका छन्। मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पस्थित होटल कोकारका सञ्चालक राम गुरूङका अनुसार पदमार्गका प्राय सबैजसो होटल अहिले भरिभराउ छ।
मर्दी पदमार्गकै हाइक्याम्पस्थित होटल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतमले पनि नेपाली पर्यटकले होटल भरिएको बताए। पोखराबाट छोटो दुरीमा रहेको यो पदमार्ग सञ्चालनमा आएको छोटो समयमै पदयात्रीले मन पराएका हुन्। दसैं अघिदेखि नै हाइक्याम्पका होटलहरु भरिन थालेको गौतमको भनाई छ।
‘लकडाउन खुलेपछि नै मर्दीमा नेपाली आउन थालेका हुन्,’ उनले भने, ‘दसैं लागेपछि त होटलहरु भरिएका छन्।’