सर्लाहीस्थित मानव निर्मित 'भरत ताल'मा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ।
पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण बागमती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ।
चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ।
ताल पूर्णरूपमा निर्माण हुन अझै केही महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ।
तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको नगरपालिकाले जनाएको छ।
अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको संख्या बढिरहेको बागमती नगरप उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन्।
उनका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालिएको छ।
तालमा विभिन्न ठाउँबाट दैनिक दुई हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्।
तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा नगरप्रमुख भरत थापाले जानकारी दिए।
उनका अनुसार तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि बगैंचा तथा घेराबेराको काम पनि भइरहेको छ।
त्यसैगरी तालको वरिपरि खाजाघरहरू धमाधम निर्माण भइरहेका छन्। तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताए।
दुई सय रुपैयाँको टिकट काटिसकेपछि तालमा घुम्न आनन्द भएको उनले सुनाए।
'बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर। बिदाको दिन होस् या चाडबाडको समय भरत ताल व्यस्त नै देखिँदो रहेछ। उक्त तालको सौन्दर्य बढाउनका लागि हाँससमेत पालिएको रहेको छ। तालमा पौडिने हाँसको दृश्यले पर्यटकको मन झनै लोभिने गरेको पाइयो,' उनले भने।
नगरप्रमुख थापाले अबको तीन चार महिनामा ताल निर्माणको काम सम्पन्न गरिने जानकारी दिए।
तालले गर्दा पर्यटकको आगमन त छँदैछ पूर्णरूपमा ताल निर्माण भइनसक्दै धेरै जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीसमेत पाएका उनले बताए।
मनोरञ्जनका लागि तालमा पाँच बोट राखिएको छ भने अझै पाँच बोट थप गरिने नगरप्रमुख थापाले जानकारी दिए।
तालमा सजावट र रिसोर्टहरूको काम केही महिनामा सम्पन्न हुनेछन्। तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ।
१२१ बिघामा निर्माण गरिएको उक्त तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ। जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ।
साथै केही समयपछि उक्त तालमा माछापालन पनि गरिने योजना रहेको नगरपालिकाले जनाएको छ।
तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक हजार ५०० स्थानीयबासीलाई रोजगारी पाउने जनाइएको छ।
नगरपालिकाले नगर बगैंचा र फनपार्कसमेत निर्माण गरिरहेको छ। नगरबासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैंचा र फनपार्क निर्माण भइरहेको बताइएको छ। रासस