सिक्लेसबाट बिहानै कफुचे हिमताल पुग्न हिँडेकी अस्मिता राई बाटोमा आत्तिइन्।
‘जति हिँडे पनि आउँदै आउँदैन, हामी त ‘होपलेस’ भएका थियौं,’ ५ जना साथीसँग कफुचे हिमताल पुगेकी अस्मिताले भनिन्, ‘अरू पदयात्रीको समूह अगाडि पुगिसकेका थिए, अन्तिममा हामी मात्र थियौं, हराउँछौं कि भनेर डर लागेको थियो।’
जब राती ८ बजे उनीहरू कफुचे हिमतालको आँगनमा पुगे, त्यसपछि बल्ल ढुक्क भए।
अस्मिताले भनिन्, ‘कफुचे पुगेपछि बाटोमा हिँड्दाको दु:ख त कता हरायो कता।’ होटल पुगेपछि खुसीयाली मनाउन साथीहरू मिलेर नाचगान गरेको उनले बताइन्।
अस्मिता र उनका साथीमात्र होइन अहिले धेरै पर्यटकको आकर्षण बनेको छ यो कफुचे हिमताल।
केही वर्षअघिसम्म सिक्लेस जाने पर्यटक गाउँ घुमेर फर्कन्थे।
गाउँका संग्रहालयदेखि गुरूङ जातिको संस्कृति अवलोकन गर्थे। अहिले अवस्था फेरिएको छ। सिक्लेस पुगेका पर्यटक गाउँदेखि एक दिन भने पनि माथिमाथि चढ्न थालेका छन्। जसले नयाँ गन्तव्य स्थापित गर्दै लगेको छ।
मोटरबाटो बनेपछि अन्नपूर्ण क्षेत्रका स्थापित पदमार्गहरु सकिए। विश्वमै चर्चा कमाएको अन्नपूर्ण फेरो पदमार्गमा मोटर गुड्नुअघि कम्तिमा २१ दिन लाग्थ्यो। मोटरले पदयात्रा ७ दिनमा झारिदिएको छ।
लमजुङ सदरमुकाम बेसीशहरदेखि मनाङहुँदै थोराङलापास गरेर मुस्ताङहुँदै बेनी झर्ने उक्त पदमार्गको माथिल्लो मनाङसम्म मोटर पुगेको छ। मुस्ताङको लोमान्थाङसम्म पनि नियमित सवारी सेवा पुगेको छ। मोटरबाटो बन्न बाँकी रहेका ठाउँमासमेत डोजर चलाउने प्रक्रिया रोकिएको छैन, यसले पदयात्रीलाई दु:ख दिएको छ।
पुराना पदमार्ग मोटरबाटोले विस्थापित गरिरहेका बेला अन्नपूर्ण क्षेत्रमै नयाँ पदमार्गहरू बनिरहेका छन्, जसले पदमार्गका नजिकका गाउँलाई पर्यटनको लाभ दिएको छ। यसको उदाहरण बनेको छ, कास्कीको पर्यटकीय गाउँ सिक्लेस।
पदयात्रीका लागि खुलेका आधा दर्जन बढी पदमार्गले सिक्लेस गाउँलाई ‘गेटवे’ बनाइदिएको छ।
सिक्लेसबाट पुगिने नेपालकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल पुग्न यतिबेला पदयात्रीको लाम लागेको छ। समुन्द्री सतहदेखि २४५० मिटर उचाइमा रहेको यो हिमतालमा अन्नपूर्ण चौथो र अन्नपूर्ण दोस्रो हिमालबाट दिनहुँजसो हिमपहिरो झरिरहन्छ।
सिक्लेसका स्थानीयका अनुसार यस्तै हिमपहिरो झर्दाझर्दै जम्मा २५ वर्ष अघिमात्र कफुचे हिमताल बनेको थियो।
हिमताल बन्नुअघि कफुचेमा हिउँ जम्मा भएर बसेको थियो। पग्लिएको हिउँ नागबेली आकारमा बगेको थियो। अन्नपूर्ण चौथो र दोस्रो हिमालबाट झरेको हिमपहिरो एकसाथ पग्लेपछि उक्त स्थानमा हिमताल बनेको सिक्लेसका स्थानीयसमेत रहेका प्रदेश सांसद मनबहादुर गुरूङले बताए। उनी कफुचे हिमताल भएको ठाउँमा भेडा चराउन गएको सम्झन्छन्।
‘बर्खामा हामी भेडा लिएर कफुचे पुग्थ्यौं, त्यतिबेला ताल भएको ठाउँमा हिँडडुल गर्थ्यौं,’ गुरूङले सेतोपाटीसँग भने, ‘हेर्दाहेर्दै हिमपहिरो पग्लिएर ताल बन्यो।’
कफुचे हिमतालमा झरिरहेको हिमपहिरो र तालको सौन्दर्यले गर्दा अहिले उक्त स्थान पर्यटकीयस्थल बनेको सिक्लेसका होटल व्यवसायी धनप्रसाद गुरूङ ‘माइला’ ले बताए। सिक्लेसमा नमस्ते गेष्ट हाउस चलाएका माइलाले हिमताल पुग्ने पदयात्री बढ्न थालेपछि सोही पदमार्गको होगुमा होटल खोलेका छन्। सिक्लेसका अन्य युवाले कफुचे ताल नजिकै होटल चलाएका छन्।
सिक्लेसबाट पदयात्री जान थालेको अर्को गन्तव्य हो, कोरीलेक। गाउँबाट २ दिन हिँडेर पुगिने कोरीलेकमा पनि नमस्ते गेष्ट हाउसका सञ्चालक माइलाले सामान्य होटल चलाएका छन्। कोरीलेक पदमार्गमा पनि अहिले नेपाली पदयात्रीको लाम लागेको माइलाले बताए।
सिक्लेसबाट कोरीलेकहुँदै दुधपोखरी, थुर्चुलेकहुँदै नामनुभञ्ज्याङ पार गरेर मनाङको डाँफेखर्क पुग्न सकिन्छ। उक्त पदमार्ग पुरा गर्न ६ दिन लाग्ने सांसद गुरूङले बताए। बेसीशहर–मनाङ पदमार्ग सञ्चालन आउनुअघि सोही पदमार्गबाट विदेशी पदयात्री यात्रा गर्ने गरेको गुरूङको दावी छ।
चर्चित भूगोलविद् टोनीहेगन पनि सोही पदमार्ग भएर मनाङ पुगेका थिए।
डाँफेखर्कदेखि तिमाङहुँदै एकैदिन सदरमुकाम चामे पुग्न सकिने गुरूङले बताए।
उनका अनुसारसिक्सेलदेखि मनाङसम्मको यो पदमार्ग ५ दिनमा पुरा गर्न सकिन्छ। सिक्लेसबाट पदयात्री जान थालेको अर्को पदमार्ग हो, ताराहिल– घलेखर्क पदमार्ग।
‘इको ट्रेक’का रूपमा प्रवर्द्धन गरिएको उक्त पदमार्ग सिक्लेसबाट २ दिनमा पुरा गर्न सकिन्छ। माछापुच्छ्रे बेस क्याम्प ४ दिनमा पुगिन्छ।
र गुरूङ समुदायको ऐतिहासिक थलो क्व्होंलासोंथर जान पनि सिक्लेसबाट नजिक पर्ने सांसद गुरूङले बताए। क्व्होंलासोंथरबाट लमजुङको घनपोखरा, घलेगाउँ, भुजुङ लगायतका गाउँ पुग्न सकिने उनको भनाई छ।
यत्तिका पदमार्गमा जाने गेटवे भएकाले अहिले सिक्लेसमा पर्यटकको चाप बढेको मादी गाउँपालिका– १ का वडाध्यक्ष सुरज गुरूङको पनि बुझाइ छ। उनका अनुसार सिक्लेसमा अहिले १० वटा होटल र २५ घरमा होमस्टे सञ्चालनमा छन्। पर्यटकको चाप बढेपछि होटल र होमस्टेको संख्या थपिँदैछ।
कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द भएको सिक्लेस दसैंअघि खुलेको थियो। अहिले पर्यटकको चापले भ्याइनभ्याई भएको होमस्टे सञ्चालक डिलकुमारी गुरूङले बताइन्।
‘दसैंयता मात्र हाम्रो होमस्टेमा ६० जना पाहुना आइसक्नुभयो,’ उनले भनिन्, ‘सिक्लेस आउने पाहुना अचेल कोही कफुचे जान्छन्, कोही कोरीलेक।’
कोरोना भाइरसको महामारीका कारण अहिले पदयात्रामा विदेशी पर्यटक भेटिँदैनन्। स्थानीय व्यवसायीका अनुसार नेपाली पदयात्रीको संख्या नै अत्यधिक भएकाले होटल र होमस्टे भरिभराउ भएका छन्।
सिक्लेसमा पर्यटकीय पूर्वाधार बनाउन पर्यटन मन्त्रालय र मादी गाउँपालिकाले गुरूयोजना बनाएको छ। ५ करोड रूपैयाँ लागतमा गुरूयोजना कार्यान्वयनको चरणमा रहेको सांसद गुरूङले बताए। गुरूयोजना अनुसार गाउँका सबै बाटोमा ढुङ्गा विच्छ्याउनेदेखि खानेपानी, पर्यटक सूचना केन्द्रलगायतका योजना अहिले कार्यान्वयनमा छन्।
पर्यटनको माध्यमबाट गाउँबाट बसाइसराईँ रोक्न पूर्वाधार विकासका योजना अघि सारेको सांसद गुरूङले बताए।
‘सात वटा पदमार्गमा पुग्न सकिने गेटवे भएकाले अब सिक्लेस पर्यटनको हब बन्दैछ,’ उनले भने, ‘सिक्लेसमा लगानी गर्न चाहनेलाई अब हामी जग्गा र आवश्यक वातावरण मिलाउँछौं।’