प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिन्डे तालमा यतिबेला पर्यटकको भीड लाग्न थालेको छ।
डुंगा सञ्चालन र तालको प्रचार-प्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको हो।
सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ मा पर्ने कुपिन्डे तालको अवलोकन र डुंगामा सयर गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। ताललाई चारैतिरबाट पहाडले घेरेको छ। त्यस स्थानबाट चाखुरे र सिस्ने हिमालको अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
पानी बाहिरिने मार्ग नभएको र पानीको मूल पनि नदेखिने यस तालको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याएको छ।
तालको अवलोकनका लागि भेरी र राप्ती अञ्चलका साथै देशका अन्य क्षेत्रबाट पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
ताल वरिपरीको जंगलमा वन्यजन्तुको अवलोकन गर्न पाइने र वनभोजका लागि पनि उपयुक्त रहेकाले पर्यटकहरू आकर्षित भएका हुनसक्ने समितिले जनाएको छ।
सो ताल (दह) मा भेटिएकी तुलसीपुर उपमहानगरपालिका–६ की ४९ वर्षीया सुशिला भट्टराई निकै खुसी देखिन्थिन्।
उनले भनिन्, ‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ, त्यसबाट धेरै सन्तुष्टि मिलेको छ।’
आफ्ना बहिनी र छोराछोरीसँगै केही दिनअघि पुगेकी भट्टराई चार घण्टा समय दह (ताल) क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए यसको सुन्दरता देख्दा आफू लोभिएको र स्वर्गकी अप्सरा उपनामभन्दा पनि कम नहुने बताइन्।
‘यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको यति कञ्चन दहलाई स्वदेश तथा विदेशीमा प्रचार-प्रसार गरी यसको महत्वलाई उजागर गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।
‘नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा यसलाई विकास गराउन सके यसले सल्यानका साथै आसपासका गाउँ र सिंगो कर्णाली प्रदेशकै मुहार फेरिने रहेछ’, उनले भने, ‘सल्यान जिल्लाका विभिन्न धार्मिक मठ-मन्दिरमा दर्शन तथा पूजा आराधना गर्नका लागि गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ। देख्दा निकै लोभ लाग्यो।’
दाङका मात्र होइन, बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरूसँग पुगेकी २१ वर्षीया अस्मिता रेग्मी पनि निकै खुसी थिइन्।
उनले तालमा डुंगा चढेर जलविहार, तालमा फोटो खिच्न तथा टिकटक बनाउँदा निकै आनन्द आएको बताइन्।
अहिले गर्मीको समयमा जंगल र सोही जंगलको बीचमा यति ठूलो नीलो सफा पानी रहेको दह ताल देख्दा यात्राको थकान सबै मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ छ।
कुपिन्डे दहमा पुगेकी तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुंगानाले यो ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण संवर्द्धनका लागि सबै लाग्नुपर्ने बताइन्।
उनले तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न, दहदेखि केही टाढा चमेना गृह, होटलहरू सञ्चालन भएमा पर्यकटलाई सुविधा हुने र पर्यटकको सङ्ख्या पनि दिनहुँ बढ्ने हुँदा आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन्।
आफूहरू सानो कार लिएर घुम्न त्यहाँ गएको ताल क्षेत्रमा जानेबाटो कच्ची तथा धुले हुँदा केही सास्ती खेपे पनि त्यहाँ पुगेपछि सबै थकान मेटिएको उनले बताइन्।
कुपिन्डे तालमा ढुंगा चलाउँदै आएका ५० वर्षीय हरिशचन्द्र पुरीले सो तालको पानीले वर्षमा तीन पटक रङ बदल्ने गरेको बताए।माघ–फागुन महिनामा यो तालको रङ परिवर्तन भएर खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनको भनाइ छ।
विशेष गरेर गर्मी महिनामा तालको अवलोकन गर्नका लागि टाढा-टाढाबाट पर्यटक आउने गरेको र सो समयमा डुंगा चढेर तालको अवलोकन गर्नेहरूको सङ्ख्या बढ्ने गरेको पुरीले बताए।
उनले भने, ‘पूरै ताल डुंगा चढेर अवलोकन गरेबापत रु २०० शुल्क लिने गरेका छौं र मासिक रूपमा कम्तीमा २० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छु।’
कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले वि.सं २०६७ मा मात्रै यो तालको अस्तित्व चर्चा आएको बताए।
उनका अनुसार विशेषगरी गर्मीयाममा टाढा-टाढाबाट पर्यटकहरू अवलोकनका लागि आउने गरेको र चैत महिनाको दोस्रो हप्तामा १५ हजारले तालको अवलोकन गरेको बताए। तालको आफ्नै विशेषता छ। वरिपरि घनाजङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैं किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो। यस तालमा गर्मीको समयमा धेरै पर्यटक अवलोकन गर्न आउने गरेको ताल संरक्षण समितिले जनाएको छ।
दैनिक ४०० को हारहारीमा पर्यकट यहाँ आउने गरेका छन्। तल नजिकै बराहदेवको मन्दिर पनि छ। सो मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नाले आफूले चिताएको कुरा प्राप्त हुने धार्मिक विश्वास छ। तल क्षेत्रमा आवश्यक पूर्वाधार नभएकाले प्रवेश शुल्क नतोकिएको भएता पनि डुंगा चढेको भने शुल्क लिने गरिएको छ।
कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २०० मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेकोे बताइएको छ। तालले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा यकिन जानकारी नभएको बताइएको छ।
तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन। यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन। तर वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए।
यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जंगलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ।
तालमा स्वदेशी तथा विदेशी पर्यकटलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे ताल संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसका लागि ताल क्षेत्रमा पुग्ने माटो कालोपत्र हुनुपर्ने, त्यहाँ पर्यटकहरूका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र ताल क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्ने आवश्यक देखिन्छ। सल्यान जिल्लाको सदरमुकाम खलङ्गाबाट तीस किलोमिटर दक्षिणमा पर्ने सो ताल जङ्गलको बीचमा रहेको छ।