पर्यटकीय सहर पोखरा नजिकै पर्दछ क्रपुडाँडा (३,०८५ मिटर)। कास्की जिल्ला, मादी गाउँपालिका–२, मा पर्ने डाँडाबाट अन्नपूर्ण चौंथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको लर्कन देखिन्छ। हिउँदमा डाँडामा हिउँ खेल्न पाइन्छ।
क्रपुबाट हिउँ पहिरो पनि देखिन्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः खसिरहन्छ पहिरो। पहिरो झर्दा गड्याङ आउने आवाजले झसंग बनाउँछ।
ग्रामीण पर्यटनको नमूना गन्तव्यका रुपमा चिनिएको गुरुङ गाउँ ‘ताङतिङ’ को शिरमा पर्दछ क्रपुडाँडा। त्यसैले पदयात्रामा चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, हिउँपहिरोको दृश्य, चिसो हावापानी, हिमालसँगको सामिप्यता र सुन्दर गाउँको दृश्यमा रमाउने अवसर मिल्छ।
ताङतिङ (१,६६५ मिटर) बाट नौचुडाँडा (२,०४७ मिटर)। नौलाचे (२,२०० मिटर) हुँदै क्रपु डाँडामा पुगिन्छ। क्रपुडाँडामा खुलेका टेण्टेड होटलमा सामान्य खाना र बास सुविधा पाइन्छ।
क्रपुडाँडामा वर्षैभरि घुम्न सकिन्छ। बर्खामा भुइँफूल र कुहिरो, असोज–कात्तिकमा हिमाल, मंसिर–फागुनमा हिउँ र चैत–बैशाखमा लालीगुराँसको मुस्कान हेर्न पाइन्छ।
क्रपुबाट गुरूङ समुदायको आदिम भूमि क्होंलासोंथर, लमजुङको घलेगाउँ, दूधपोखरी र मनाङसम्म पदयात्रा गर्न सकिन्छ।
ताङतिङ गाउँको सामुदायिक होमस्टे, क्रपुडाँडाको टेण्ट र पोखरामा एक–एक रात बस्ने गरी यात्रा योजना बनाउँदा प्रकृति र संस्कृतिको मिठासमा रम्न सकिन्छ।
ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको ताङतिङका गाउँलेको आत्मीयताले सबैलाई मोहित बनाउँछ। त्यहीं दुई चार दिन बसौं बसौं लाग्छ।
काठमाडौंबाट यात्रा गर्दा पहिलो बास ताङतिङमा, दोस्रो बास क्रपुडाँडामा, तेस्रो बास पोखरामा बस्ने हिसाबले कम्तिमा ४ दिनको योजना बनाउनु बेस हुन्छ। खल्तीमा १० हजार रुपैयाँ बोकेमा बसभाडा, बास र खानालाई पुग्छ।
यात्रामा निस्कनु अघि गन्तव्यस्थलका पर्यटनकर्मीलाई सम्पर्क गरेर होमस्टे, टेन्ट र कोठा बुक गरेमा सजिलो हुन्छ। साथै जानकारी पनि पाइन्छ।
विगतमा ताङतिङ, क्रपुडाँडा र हयाङ्जाकोटलाई जोडेर भिटोफ नेपालले होमस्टे पदमार्गको अबधारणा अघि बढाएको थियो। उसले एक रात क्रपुडाँडामा बसेर यसको पर्यटकीय सम्भावना उजागर गरेको भिटोफ पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारी सम्झन्छन्। समयसँगै क्रपुडाँडा सडक सञ्जालसँग जोडिएपछि त्यहाँ चहलपहल बढेको छ।
कसरी पुग्ने?
काठमाडौं–पोखरा २०० कि.मि. बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा।
पोखराको काहुँखोला–ताङतिङ २१ कि.मि. सम्म सार्वजनिक बस तथा जिप चल्छन्। ताङतिङ–क्रपुडाँडा १० कि.मि. पदयात्रा। हिउँ नभएका बेला क्रपुडाँडासम्म मोटरबाइक वा जिपमा जान सकिन्छ।
टिप्स
- जाडो मौसममा हिउँ पर्छ। त्यसैले न्याना कपडा, ट्रेकिङ बुट, लौरो, टर्चलाइटलगायत अत्यावश्यक सामानसहित यात्रा गर्ने।
- न्याना कपडा लगाउने। निधार छोप्ने माकल टोपी लगाउने र हिउँको रिफ्लेक्सनबाट बच्न कालो चश्मा लगाउने।
- क्रपुडाँडामा बिजुली सुविधा छैन। त्यसैले मोबाइल फोन चार्जका लागि व्याकअप बोक्ने। अन्धाधुन्ध फोटो तथा तस्बिर नखिच्ने, ब्याट्रि बचत गर्ने।
- चिसो ठाउँमा तातो पानी र सुप प्रशस्त पिउने। ताजा खानेकुराहरू खाने।
- हिउँमा हिँड्न सजिलो हुँदैन। सुस्तरी उकालो चढ्ने। थर्मसमा तातोपानी बोकेमा ठाउँठाउँमा थोरैथोरै पानी पिउँदै हिँड्ने।
- एक्लै होइन, समूहमा जाने। साँझ नपर्दै बासस्थलमा पुग्ने। राती १० बजे भित्र सुत्ने।
सम्पर्क
ताङतिङका पर्यटन अभियन्ता प्रकाश गुरुङ–९८५६०२८८२७
क्रपुडाँडाका होटल व्यवसायी गुमानध्वज गुरुङ–९८४६५३१८५०/९८०६७९५९९०
हेर्नुहोस् तस्बिरहरू