कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले नेपालमै युरिया मल उत्पादन गर्नेबारे आवश्यक प्रक्रिया थालेको बताएका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको बताएका हुन्।
उनले नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रासायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरिएको बताए। उक्त कार्यदलले कार्य आरम्भ गरेको पनि मन्त्री भुसालले बताए।
समयमै मल आउन नसकेपछि भुसालले जनतासँग क्षमा माग्दै दुःख व्यक्त गरेका छन्। उनले आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाए।
भुसालले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको बताए। कारबाहीमा परेका कम्पनीमा शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि. छन्।
कृषि समग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो।
दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो। त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मिति सम्म पनि मल आउन हुन नसकेपछि सम्झौता रद्द भएको मन्त्री भुसालले बताए।
उनले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताए। भुसालले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत बताए।
उनले ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिए पनि विस्तारै सहज हुँदै जाने बताए। यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको उनले बताए।
प्रधानमन्त्रीस्तरबाट अनुमति पाइसकेकाले मल पैंचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको भुसालले बताए। पैंचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्रीबीच समझादारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उनले बताए।
अबको १५ दिनभित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भुसालले बताए।
यी पनि हेर्नुहोस्: