केही वर्षअगाडिसम्म सडकमा फाट्टफुट्ट मात्र देखिने टिभिएसका मोटरसाइकल र स्कुटरले अहिले राम्रो उपस्थिति देखाइरहेका छन्। आक्रामक बजार र गुणस्तरियताका कारण विस्तारै सवारी क्षेत्रमा यसको प्रभाव बढ्दै गएको दिपककुमार अग्रवाल बताउँछन्। टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष रहेका अग्रवालसँग बजार, ब्यवस्थापन, भावी रणनीति लगायतका विषयमा सेतोपाटीका सुधिर भण्डारीले गरेको सम्पादित कुराकानीःदसैं र तिहारमा टिभिएसका २ पाङ्ग्रे साधनको बजार कस्तो रह्यो ?यो दसैं तिहारमा हामीले सोचेको भन्दा पनि राम्रो कारोबार भयो। यसपालि हामीले ‘स्वर्ण सय दिन’ भन्ने स्किम राखेका थियौँ। जसमा ग्राहकलाई मोटरसाइकलमा ७ हजार र स्कुटरमा ९ हजार छुट दिएका थियौँ। त्यसबाहेक हरेक दिन एक तोला सुन उपहार जित्ने मौका थियो।
यसबाट धेरै ग्राहक लाभान्वित भए। हामीले प्रचारप्रसारमा पनि धेरै मिहेनत गर्यौँ। विभिन्न सट्टीपट्टी क्याम्प राख्दै विभिन्न कार्यक्रमहरु गर्यौँ। फलस्वरुप यसपालि लक्ष्यभन्दा २५ प्रतिशत धेरै बिक्री गर्यौँ।
नेपालमा २ पाङ्ग्रे सवारी साधनको बजार अवस्थालाई तपाईँले कसरी हेरिरहनुभएको छ ?दुई पाङ्ग्रे सवारी साधन बिलासिताको साधन होइन, अत्यावश्यक हो। नेपालमा सार्वजनिक यातायातको ब्यवस्था त्यत्ति राम्रो हुन सकेको छैन। निकै कम ब्यक्तिले मात्र कारमा पहुँच राख्न सक्छन्। नेपालको बाटो तथा वातावरणलाई सुहाउँदो मोटरसाइकल नै हो। अहिले मोटरसाइकलबाटै नेपालभर घुम्न पनि सकिने हुँदा प्रयोग बढ्दै छ र भविष्य पनि राम्रो देख्छु।
टिभिएसका मोटरसाइकल र स्कुटर अहिलेसडकमा पहिलाको तुलनामा धेरै देख्छौँ, ग्राहकले अहिले किन मन पराउन थालेका होलान् ?पहिले टिभिएस अर्कै बितरकले विक्री वितरण गरिरहेको थियो। हामीले लिएको २ पुरा भएर ३ वर्ष लाग्यो। यो अवधिमा हामीले अत्याधिक मिहेनत गरेका छौँ। त्यस्तै टिभिएस अपाचे २०० आयो, १६० र १८० अपग्रेड भएर जेस्ट आयो, जुपिटरको नयाँ रङमा ल्यायौँ। त्यसैगरी हामीले नेटर्वक राम्रो बनायौँ।
अहिले नेपालभर ७५ भन्दा धेरै बिक्री केन्द्र र २ सय बढी सर्भिस सेन्टरहरुको स्थापना गर्यौँ। हाम्रा सबै शो–रुम एकै प्रकारका छन्। त्यस्तै डिलर, स्टाफहरुको लागि ट्रेनिङमा लगानी गर्यौँ। स्पेयर पार्टस् उपलब्धता बढायौँ। हामीले प्रवद्र्धनलाई व्यापक जोड दिएका छौँ।
सिनेमा हल होस या रोड साइड पेट्रोल पम्प या त सडकको होर्डिङ बोर्ड नै किन नहोस सबै ठाउँमा हाम्रो उपस्थिति छ। जिम्मा लिएदेखि नै व्यवसायमा सुधार गरेका छौँ र अबको दुई वर्षमा बिक्रीका हिसावले नेपालको ‘नम्वर वान’ ब्राण्ड बन्ने योजना छ।
दुई वर्षमा नम्वर वान ब्रण्ड बन्छौँ त भन्नुभयो, सकिएला र ?पक्कै पनि सकिन्छ। अहिले १५ देखि १६ प्रतिशत बजार हिस्सा ओगटेका छौँ। हाम्रो जुन तयारी छ, त्यसका लागि उत्पादन, गुणस्तर र क्षमता पनि छ। त्यसका लागि नेटर्वक बढाइरहेका छौँ, यी सबै आधारलाई हेर्दा त्यो असम्भव छैन।
दुई पाङ्ग्रे सवारी साधन धेरै छन्, ग्राहकले किन टिभिएस नै रोज्ने ?टिभिएस १ सय १६ वर्ष पुरानो कम्पनी हो। यसले गुणस्तरमा सम्झौता गर्दैन। जति सर्भिस, स्पेयर पार्टस उपलब्ध छ सायद यत्तिको कमैमा होला। बिक्रीको हिसावले नभएपनि ग्राहकको सन्तुष्टीको हिसाबले हामी अहिले पनि नम्बर वान छौँ। दोहोरिएका ग्राहक धेरै छन्। हामी नितान्त ग्राहक केन्द्रित छौँ।
टिभिएसको आधिकारिकता लिने वित्तिकै आक्रामक बजार विस्तार गरिरहेको दावी गर्नुभयो, भावी योजना के छ?हामीले आरम्भदेखि नै सुधार गरिरहेका छौँ। सेल्स, सर्भिस, नेटवर्क बढाइरहेका छौँ, स्टाफहरुलाई तालिम दिइरहेका छौँ, नयाँ उत्पादनको प्रचार गरिरहेका छौँ। युवा पुस्तालाई चाहिने नयाँ–नयाँ उत्पादन ल्याउने तयारी गरिरहेका छौँ। हामी चाँडै नै आरटिआर १६० र १८० को नयाँ मोडल लन्च गर्ने योजना बनाइरहेका छौँ।
१६० मा पनि नयाँ कलरहरु लन्च गर्ने प्लान गरिरहेका छौँ। नयाँ स्कुटर पनि लन्च गर्ने तयारी छ। नयाँ नयाँ ल्याउने, देशभर सबैको स्पेयर पार्टस् उपलव्ध गराउने, प्रचार प्रसार गर्ने काम हाम्रो निरन्तर हुनेछ।
आरटिआर सिरिज नेपालमा निकै लोकप्रिय बन्यो किन होला ?पहिलो कुरो यसको प्रदर्शन निकै राम्रो छ। यी बाइकहरु रेसिङ डिएनएका भएको हुनाले युवा पुस्ता केन्द्रित छ। शक्तिशाली, राम्रो लुक्स, बिग्रेमा मर्मत शुल्क कम छ। अर्को कुरा सरकारकै तथ्याङ्क हेर्ने हो भने सबैभन्दा कम दुर्घटनामा पर्ने बाइकमा टिभिएस आरटिआर हो।
युवा पुस्ता मात्र नभई पुलिस, कार्यालय प्रयोजनका लागि कम्पनीहरुले पनि रुचाइरहेका छन्। टिभिएस ६० वटा भन्दा धेरै देशमा निर्यात हुन्छ। भारतमा यसको हिस्सा दोस्रो स्थानमा छ, बंगलादेश र श्रीलंकामा एक नम्वर पोजिसनमा छ।
भर्खरै लन्च भएको स्ट्राइकरले कस्तो प्रतिक्रिया पाइरहेको छ ?ग्राहबाट राम्रो प्रतिकृया आइरहेको छ। ४ महिनामा बेच्न ल्याएको बाइक १ हप्तामै सकियो। यो छोटो समयमै करिव १ हजार मोटरसाइकल बिक्री गरिसकेका छौँ। अबको दिनमा स्ट्राइकरले अझ राम्रो गर्नेमा हामी विश्वस्त छौँ।
बाइकले राम्रो गति लिइरहँदा स्कुटरले किन नसकेको होला ?यो पहिलेको कुरा हो। पछिल्लो समय सबै स्कुटरको बजार बढिरहेको छ। केटाले स्कुटर चलाउन थालेका छन्। हाम्रो कुरा गर्दा बाइक ६० र स्कुटर ४० प्रतिशत बिक्री छ। ‘विगो’, ‘जुपिटर’को विक्री अधिक नै छ। स्कुटर बिक्रीको कुरा गर्दा पोखरामा हामी एक नम्वर पोजिसनमा छौँ, बुटवलमा पनि सबैभन्दा धेरै हाम्रो बिक्छ, बिर्तामोडमा अलि कम छ भने इटहरीमा धेरै राम्रो छ। हाम्रो स्कुटरको बिक्री कम छ भन्न मिल्दैन, बरु विस्तार हुँदैछ।
देशभरी टिभिएसका सर्भिस सेन्टरहरु छैनन्, पार्टपुर्जा पनि महँगो छ भन्ने जमात पनि बाक्लै छ, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?टिभिएस दुई पाङ्ग्रे हामीले बेच्न सुरु गरेपछि सबैभन्दा पहिले गरेको सुधार यसैमा हो। सर्भिस र नेटवर्कलाई सुधार गर्यौँ। स्पेयर पार्टसको उपलव्धता बढायौँ। हिजोको दिनमा पनि मूल्य महँगो थिएन। वितरकले पार्टस्मा जोड गर्नुभएको थिएन। पार्टस् कम पाइनु, धेरै पैसा लिइनु जस्ता समस्या थिए।
अहिले कुरा पार्टस् सजिलै सुलभ मूल्यमा पाइन्छ। काठमाडौमा दुई वटा पार्टस पसल नै खोल्यौँ। २२ वटा सर्भिस सेन्टर स्थापना गर्यौँ। देशभर २ सय भन्दा धेरै सर्भिस सेन्टर छन्। देशभर ५० हजार भन्दा धेरै लोकल ग्यारेजमार्फत पार्ट्सपूर्जा उपलव्ध गराउन खोजिरहेका छाँै। ग्राहकको यो गुनासो अब रहँदैन।
टिभिएसका नयाँ केही बाइक वा स्कुटर आउँदै छन् कि ?तुरुन्तै त होइन, हामी केही नयाँ रङमा लन्च गर्दै छौँ। यो महिनामै एउटा स्कुटर ल्याउँदै छौँ। असारसम्ममा नयाँ मोटरसाइकल र स्कुटर आउँछ। चाँडै नै ३ सय सिसीको मोटरसाइकल पनि ल्याउने तयारी छ। सायद अर्को वर्ष यो पनि लन्च गर्छौँ होला।
एभरेष्ट प्रिमियर लिग क्रिकेटलाई स्पोन्सर गर्नुभएको छ, यसबाट के आश गर्नुहुन्छ ?विश्वव्यापी रुपमा हेर्ने हो भने क्रिकेटले लोकप्रियता कमाइरहेको छ। कीर्तिपुर रङ्गशालामा पुस ४ देखि १६ गतेसम्म चल्ने एभरेष्ट प्रिमियर लिगमा हामी प्राइम स्पोन्सर छौँ। १२ दिनमा १९ म्याच हुने यो लिगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित ६ वटा टिमले सहभागिता जनाउँदै छ।
युवालाई स्पोर्टसको माध्यमबाट जोड्न चाहन्छौँ। हाम्रो स्पोन्सरसिप नेपालमा क्रिकेटको प्रबद्र्धन गर्नको लागि हो। टिभिएस पनि स्पोर्टससँग जोडिएकाले क्रिकेटलाई प्रवद्र्धन गर्न खोजेका हौँ।