सवारीसाधनमा नयाँ प्रविधिको इम्बोस्ड नम्वर प्लेट राख्नका लागि आवेदन खुलेको छ।
यातायात व्यवस्था विभागले आजदेखि ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड नम्वर प्लेट वितरणका लागि अनलाईनमार्फत आवेदन खुला गरेको हो।
प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरू गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए। ‘प्रदेशको नामको टुङ्गो नलागे सम्म प्रदेशको पहिचान नम्बरमा राख्ने र पछि प्रदेशको नाम निश्चित भएपछि निशुल्क रुपमा प्रदेशको नाम उल्लेख भएको स्टीकर टाँसिदिने निर्णय भएको छ’ उनले भने।
इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरू हुनेछ। इम्बोष्ड नम्बरका लागि ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन कार्यालयमा दस्तुर बुझाउनुपर्नेछ।
इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय रुपैयाँ, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय रुपैयाँ र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । सेवाग्राहीले आवेदन दिएको १ हप्तादेखि १० दिन भित्रमा इम्बोस्ड नम्बर प्लेट पाउने प्रवक्ता पाण्डेले जानकारी दिए।
सरकारले गत कात्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत सार्वजनिक गरेको थियो। सोही सूचनाको आधारमा इम्बोष्ड प्लेटका लागि आवेदन खुला गरिएको हो।
सरकारले अरु प्रदेशहरूमा पनि इम्बोष्ड नम्बर प्लेट वितरणको काममा ढिलाई नगर्ने बताएको छ। क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरु प्रदेशहरूमा पनि एकैसाथ सुरू गर्न लागिएको विभागको भनाइ छ।
सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो।
इम्बोस्ड नम्बर प्लेटको लागि
www.dotm.gov.np वा सिधै
www.hsenp.dotm.gov.np लग इन गरेर त्याहाँ दिएको निर्देशन अनुसार फारम भर्न सकिनेछ।