नेपालमा रुचाइएको कार ब्राण्ड हुण्डाइले आफ्नो नयाँ संकरण ‘द नेक्स्ट जेन भर्ना’ सार्वजनिक गर्ने भएको छ। नेपालको लागि हुण्डाईको आधिकरिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार ५ औँ जेनेरेसनको सेडान सार्वजनिक गर्न लागेको हो।
यो गाडी पछिल्लो संस्करणको तुलनामा निकै अत्याधुनिक र शक्तिशाली रहेको कम्पनीले जनाएको छ। यस कारमा क्रेटाको इन्जिन समावेश गरिएको कम्पनीका सिनियर ब्रान्ड म्यानेजर अवाशिष ओझाले जानकारी दिए।
कम्पनीले हाल यसको मूल्य सार्वजनिक नगरे पनि सुरुवाती मूल्य करिव ४० देखि ४२ लाखसम्म हुने अनुमान गरिएको छ। कार सोमबारबाटै बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
भर्नाले २०१२ देखिनै नेपालीहरुको मन जितेको हुनाले यो पनि नेपालमा उत्तिकै लोकप्रिय हुने लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले दावी गरे। ‘यो गाडी पहिलेका संस्करण भन्दा धेरै इम्प्रुभ पनि छ, भारतमा बनेको हुनाले नेपाली माटो सुहाउँदो पनि छ’ भट्टले सेतोपाटीसँग भने।
यो कार भर्नाको नामले नेपालमा २००६ देखि सार्वजनिक भएको हो। कुनै देशमा यो ‘एसेन्ट’को नामले पनि बिक्री वितरण भइ रहेको छ। नेपालमा पनि पहिले यो गाडी ‘एसेन्ट’कै नामले परिचित थियो।
संसारभर अहिलेसम्म यो कार ८८ लाख युनिट भन्दा धेरै बिक्रि भैसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
सेफ्टीको लागि यसमा २ वटा एयरब्याग, कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस, इबिडी, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर्स समावेस गरिएको छ।
यो कारको प्रतिस्पर्धामा मारुती सुजुकी सियाज, होण्डा सिटी, स्कोडा र्यापिड, फक्सवागन वेन्टो लगायत हुनेछ। नेपालमा यो पेट्रोल भेरियन्टमा मात्र उपलब्ध हुनेछ।
यस्ता छन् थप विशेषता
क्षमता – १५९१ सिसी
पावर – १२३ पिएस @ ६४०० आर एमपी
टर्क – १५.४ केजिएम @ ४८५० आरएमपी
६ स्पिड म्यानुअर र अटोम्याटिक