साझा यातायातले एक महिनाभित्र ‘सेमी लो फ्लोर’ बस ल्याउने भएको छ। नमुना संचालनको रुपमा ल्याउन लागिएको यो बसमा उक्लन र ओर्लन धेरै नपर्ने भएकाले अशक्त, महिला, बालबालिका तथा वृद्धवृद्धाका लागि चढ्न र ओर्लन सहज छ। भुइँ र बसको भर्याङबीचको ठाउँ थोरै हुने भएकाले यो बसलाई ‘सेमी लो फ्लोर’ भन्ने गरिएको हो।
हालै साझाको एक प्रतिनिधी टोलीले बसको अध्ययन गरी फर्किएको छ। अशोक लेल्याण्डले सो बस ल्याई साझालाई हस्तान्तरण गर्नेछ। साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले एक महिनाभित्र बस राजधानी आउने बताए। उनका अनुसार यी बसको सिट क्षमता ४० भन्दा बढी हुनेछ। मोबाइल चार्ज गर्ने ठाउँ, अहिलेका बसमाजस्तै समाउने ह्याङ्गर, टिभी, सिसिटिभी पनि बसमा हुनेछ। बस आइसकेपछि मात्रै उपयुक्त रुट तय गरी संचालन गरिनेछ।
यो बसका लागि पक्की, खाल्डाखुल्डी नभएको फराकिलो सडक चाहिने भएकाले राजधानीको अहिलेको सडकमा यस्ता बस गुडाउन चुनौतिपूर्ण देखिन्छ। ‘चिल्ला फराकिला, खाल्डाखुल्डीमुक्त, धुलोमुक्त सडक भएमा मात्रै यी बसहरु संचालन गर्न सहज हुन्छ, अहिलेकै सडकमा यस्ता बस त्यति उपयुक्त हुँदैनन्’ पाण्डेले भने।
साझाले उपत्यकाबाहिर संचालन गर्नका लागि ४ वटा डिलक्स बस ल्याउने तयारी पनि पुरा गरेको छ। कम्पनीले एलसी खोलिसकेको जनाएको छ। एलसी खोलेको १२० दिनभित्र बसहरु आइपुग्ने बताइएको छ।
डिलक्स बसका अलवा ४० सिट बढीका थप २० वटा सिटी बस ल्याउनका लागि पनि उसले प्रक्रिया थालेको छ। त्यसका लागि टेण्डर आह्वान गरिसकिएको अधिकृत पाण्डेले बताए।
काठमाडौंको ५ र ललितपुर महानगरको १ गरी जम्मा ६ करोड लगानीमा साझाले २० बस संचालनमा ल्याउन लागेको हो। यी बसहरु उपत्यकामा संचालन हुनेछन्।