काभ्रे स्थाई घर भएका उमेश कुवँरले गत साउन २३ गते सवारी चलक अनुमति पत्र(लाइसेन्स) को ट्रायल पास गरे। यातायातका कर्मचरीहरूले उनलाई ३ महिनापछि लाइसेन्स लिन आउनुहोस् भने। कुवँर लाइसेन्स लिन ३ महिनापछि यातायात व्यवस्था विभाग पुगे। कर्मचारीहरूले उनलाई फेरी १५/२० दिनपछि आउनु भने। फेरी उनी बिहिबार करिब १२ बजे लाइसेन्स पाउने आशमा विभाग पुगे तर उनलाई लाइसेन्स होइन फेरी अर्को मिति दिइयो । त्यो पनि २ महिना पछिको ।
‘ट्रायल कटाउन भन्दा लाइसेन्स पाउन गाह्रो रहेछ, प्रक्रिया पुर्याएर ट्रायल पास गरियो लाइसेन्स पाउने कहिले–कहिले’ कुवँरले आफ्नो अनुभव सुनाउँदै विभागको गेटबाट निस्किए।
यो समस्या कुवँरको मात्र होइन। उनी जस्ता २ लाख ५० हजार भन्दा धेरैको हो।
अहिले विभागसँग ४ वटा स्मार्ट कार्ड छाप्ने मेसिन छन् जसमा एउटा बिग्रिएको छ। एउटा मेसिनले धेरैमा दैनिक ३ सय अोटा कार्ड छाप्न सक्छ। तीन वटा मेसिनले दैनिक धेरैमा ९ सय थान कार्ड छाप्छ। यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार अहिले कार्डको माग भने दैनिक झण्डै ४ हजार छ।
यो स्थितिमा अहिले दैनिक मागभन्दा पूर्ति ३ हजार १ सय र मासिक रूपमा ९३ हजार प्रति कम देखिन्छ।
यो समस्या समाधानको लागि विभागले पहल नै नगरेको भने होइन। गत असोज ३० गते ७ लाख ५० हजार कार्ड छाप्नको लागि भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्र्सलाई जिम्मा दिएको छ। पाण्डेका अनुसार विभागले अहिले ५ अोटा कार्ड छाप्ने मेसिन पनि थप्न लागेको छ।
बिग्रिएको मेसिन बनाएर नयाँ मेसिन थप्दा पनि विभागले दैनिक ९ अोटा मेसिनले ३०० का दरले दैनिक २ हजार ७ सय मात्र कार्ड मात्र छाप्न सक्छ। तर मा भने दैनिक ४ हजार हो।
विभागले पूर्ण क्षमतामा कार्ड छाप्दा पनि दैनिक झण्डै १ हजार ३ सय र मासिक ३९ हजार माग धान्न सक्दैन।
त्यस्तै, पहिले नै ट्रायल पास भएका अढाइ लाख भन्दा धेरै कार्डबिहिन भएको हुँदा सहज रूपमा लाइसेन्स पाउन अझै धेरै समय लाग्ने देखिन्छ।
कहाँ भयो कमजोरी ?विभागले २०७२ मंसिरमा काठमाडौंबाट स्मार्ट कार्ड वितरण सुरू गर्यो। एशियाली विकास बैंकले विभागलाई १ वर्ष भित्र देशैभर स्मार्टकार्ड सुरू गर्नुपर्ने भनेको थियो ।
‘२०७४ असारसम्ममा जसरी पनि देशभरी नै स्मार्ट कार्ड लागू गर्नुपर्ने विभागको बाध्यता थियो, प्रेसरमै भएपनि उपत्यका बाहिर सुरू गरियो, डिमाण्ड ह्वात्तै बढ्यो माग अनुसार पूर्ति गर्न सकिएन त्यसैले अहिले यस्तो अवस्था आएको हो’ प्रवक्ता पाण्डेले भने।