सार्वजनिक सवारी साधनको भाडा बढाउने समतिलाई कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायीले बैठक वहिष्कार गरेर विरोध जनाएका छन्।
यातायात व्यवस्था विभागसँग मंगलबारका लागि तय भएको बैठकमा राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विरोध स्वरुप उपस्थिति मात्रै जनाएर निस्किए।
सार्वजनिक यातायातमा बाल मजदुरको समस्या र सवारी साधनमा गीत बजाएबापत रोयल्टी बुझाउनुपर्ने विषयमा छलफल गर्न बैठक तय भएको थियो। तर व्यवसायीले बैठक नै बहिष्कार गरेपछि कुनै निर्णय हुन सकेन।
बैठक बहिष्कार गरेर निस्किदै सिटौलाले पुरानो सहमति कार्यान्वयन नगरीकन नयाँ विषयमा छलफल नहुने प्रतिक्रिया दिए। ‘विभागका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले चार्डपर्व सकिने बित्तिकै वैज्ञानिक तवरले भाडा समायोजन गर्ने सहमति भएको थियो’ उनले भने ‘एउटा सहमति कार्यान्वयन नहुँदै फेरी नयाँ कुरा ल्याएर छलफल गर्नु उपयुक्त नहुने भएकाले विरोध जनाएका हौँ।’
आफूहरुले सार्वजनिक यातायातको भाडा बैज्ञानिक बनाइदिन मात्रै भनेको उनले बताए। ‘बाल मजदुर र गीतसंगीतको रोयल्टी’ छलफलको विषय भए व्यवसायीको विरोधपछि छलफल नै हुन सकेन। काठमाडौं उपत्यकामा रहेका ९ हजार सवारी साधनमा करिव ४ सय वाल मजदुर रहेको आँकलन गरिएको छ। यी बालमजदुर हटाउनका लागि सरकारले पहल गरिरहेको छ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले अब यातायात व्यवसायीसँग भद्र भएर कुरा गर्ने नभई बाल मजदुर राख्नेलाई ‘डण्डा’ लगाउनुपर्ने बताए।
बैठकमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले यातायात व्यवसायीहरुको प्रवृत्ति अशोभनीय भएको बताए। विभाग अभिभावक भएकाले बलियो हुनुपर्नेमा उनले जोड दिए।
बैठकमा सहभागी संगितकर्मीहरुले आफूहरुको सिर्जना बौद्धिक सम्पत्ती भएको भन्दै सवारी साधनमा गीत बजाए बापत वार्षिक १ हजार रोयल्टी तिर्नुपर्ने बताए।
राष्ट्रिय यातायात व्यवसायी महासंघको महाधिवेशन पनि यही माघमा हुने तयारी छ। यो समयमा गीतको रोयल्टी तिर्नुपर्दा निर्वाचनको परिणाम नै फरक आउन सक्ने त्रास व्यवसायीमा रहेको छ।
त्यसमाथि गाडी भाडा पनि बढाउन नसक्दा नेतृत्व गर्ने तयारीमा रहेकालाई धेरै गाह्रो पर्ने भएकोले भाडा बढाउन दवाव आएको स्रोतको भनाइ छ।