शुक्रबार राजधनीको पुरानो बसपार्कमा गुडिरहेको पल्सर मोटरसाइकलमा आगो लाग्यो। मोटरसाइकलमा अचानक धुँवा आएपछि चालक राजेन्द्र कँडेलले साइड लगाए। लगत्तै दन्किएको आगोले मोटरसाइकल जलेर नष्ट भयो। दन्केको आगो निभाउन दमकल नै प्रयोग गर्न परेको थियो।
यसरी गुडिरहेको मोटरसाइकलमा आखिर आगो किन लाग्छ?
ब्याट्रीको कनेक्सनबाट कतै सटसर्किट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने उच्च सम्भावना हुने जगदम्बा मोर्टस (टिभिएस)का सर्भिस सिनियर म्यानेजर श्याम कृष्ण महर्जन बताउछन्।
त्यस्तै ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाँउमा जोडियो भने वायरिङमा हिट प्रड्युस भएर आफैं जल्छ।
त्यसैगरी कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्ने उनले बताए।
दुर्घटनाबाट बच्न सर्वप्रथम त गुणस्तरिय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ।
‘नेपालमा मोटरसाइकल आलु प्याज जसरी बिक्री भइरहेको छ, मोटरसाइकलको गुणस्तर जाँच गर्ने कुनै निकाय नै छैन’ महर्जनले सेतोपाटीसँग भने।
यसरी गुणस्तरको जाँच गर्ने, साधनलाई सँधै गुणस्तरीय बनाइराख्नको लागि पर्याप्त प्राविधिकहरु पनि नेपालमा नभएको उनको भनाइ छ।
‘नेपालमा दक्ष कामदारको धेरै अभाव छ, राम्ररी तार सेटिङ गर्न नजान्ने पनि मेकानिक बनेका छन्, यसले पनि यस्तो दुघर्टना निम्त्याएको छ।’ उनले भने।
यस्तो समस्याबाट बच्न चालकले पनि ध्यान दिनुपर्ने उनको भनाई छ।
लिगेज भएको, बिना फ्युजको ब्याट्री,जलेको तार जस्ता सामग्रीमा होसियार हुनुपर्ने प्राविधिकहरुको सुझाव छ।
कतैबाट पेट्रोल लिकेज भएको बेलामा फयरिङ लिगेज भयो भने आगो लाग्ने सम्भावना उच्च हुने बजाज मोटरसाइकल वितरक गोल्मेश्वर आटो इन्टरप्राइजेजका वर्कसप इन्चार्ज सरद केसी बताउछन्।
‘पेट्रोल र फयरिङ लिकेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुन्छ’ उनले भने।
त्यसैगरी वायरिङ सट भएमा पनि आगो लाग्न सक्ने उनको भनाइ छ।
यसबाट बच्न बाइक लिएर हिड्दा ट्याङ्कीमा लिकेज भएनभएको हेर्नुपर्ने उनको सुझाव छ।