गोकर्णेश्वर यातायात अटो प्रालिले चक्रपथमा १० वटा सुविधा सम्पन्न ठूला बस थपेको छ।
यी बस थपिएसँगै सो यातायातका ३७ बस संचालनमा आएका छन्। यी दस बसले माकलबारी–जोरपाटी– चावहिल–गोपिकृष्ण बसुन्धारा हुँदै चक्रपथ परिक्रमा गर्नेछन्। पाँच वटा बस एकतर्फी चलिरहँदा अरु पाँच बस विपरित दिशामा चलिरहने समितिले जनाएको छ।
गोकर्णेश्वर यातायात समितिका सदस्य भिमबहादुर बस्नेतले बसबाट यात्रुहरुलाई सहजता हुने बताए।
‘यो सुरुवात हो, हामी पछिका दिनमा पनि ठूला बस थप्ने विचारमा छौँ’ उनले सेतोपाटीसँग भने। बसमा एलइडी टिभी तथा यात्रा गरिरहेको स्थान भनिदिने सिस्टम जडान छ। ‘ठूला बसमा उभिन पनि पर्याप्त ठाउँ भएकाले उभिने यात्रुलाई पनि असहज हुने छैन’ उनले भने।
चालक सहित ४१ सिट क्षमताको बसको लम्बाई ९.१ मिटर र चौडाई २.२ मिटर छ।
सिटहरुबीचको अन्तर ठाउँले गाडी चढ्ने–झर्ने लाई पनि निकै सहज हुने कम्पनीले जनाएको छ। उभिएर यात्रा गर्नेको लागि गाडीको दुइवटा लाइनमा तीसवटा ह्याङ्गरको व्यवस्था गरिएको छ।
टाटाको एलपी ९०९/४९ मोडलको यो बसमा एबिएस, रियल टाइम ट्र्याकिङ सिस्टम, पावर स्टेरिङ लगायत विशेषता रहेको सिप्रदी ट्रेडिङका असिस्टेन्ट प्रोडक्ट म्यानेजर (बस) प्रधुम्न केसीले जानकारी दिए।
‘यो बस टाटाकै निकै लोकप्रिय हो, यसमा यात्रुले सहज, सुरक्षित यात्रासँगै मनोरन्जन पनि पाउने छन्’ केसीले भने।