यातायात व्यवस्था विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि दिन प्रतिदिन यसको समस्या बढ्दै गइरहेको छ।
ट्रायल पास गरेको ६–७ महिना सम्म चालकहरु चिटकै भरमा सवारी चलाउन बाध्य छन्। ट्रायल पास गरेका करिब ३ लाख चालकले लाइसेन्स पाएका छैनन्।
गत असोजमा मात्र यातायात व्यवस्था विभागले एकै पटक ७ लाख ५० हजार कार्डको लागि मद्रास प्रिन्टसँग सम्झौता गरेको थियो। त्यो सम्झौता अनुसार मद्रास प्रिस्टर्सले यो महिना भित्र साढे ३ लाख कार्ड उपलब्ध गराउने छ।
त्यो बाहेक अबको एक हप्ता भित्रै पहिलेको सम्झौताअनुसार १ लाख कार्ड आइपुग्ने यातायात व्यवस्था विभागका प्रवक्ता विरेन्द्र सुवालले जानकारी दिए।
‘कार्ड अभावको समस्या केही दिनमै हट्ने देखिएपनि छपाइको समस्या भने अझै केही समय लम्बिने देखिएको छ’ उनले भने।
अहिले विभागमा बिग्रिएर रहेको छपाई मेसिन बनाउन भारतबाट प्राविधिकहरु आएको सुवालले जानकारी दिए। त्यस्तै यो महिना भित्रै अन्य ५ वटा मेसिन पनि अइपुग्ने र ९ वटा मेसिनले छपाइ गर्दा केही महिनामा लाइसेन्सको समस्या हट्ने विभागको दावी छ।
अहिले दैनिक झण्डै ४ हजार कार्डको माग छ। एउटा मेसिनले धेरैमा दैनिक ३ सय वटा कार्ड छाप्न सक्छ।
९ वटा मेसिनले ३०० का दरले दैनिक २ हजार ७ सय कार्ड मात्र छाप्न सक्छ। विभागले पूर्ण क्षमतामा कार्ड छाप्दा पनि दैनिक झण्डै १ हजार ३ सय र मासिक ३९ हजार माग धान्न सक्दैन।
त्यस्तै, पहिले नै ट्रायल पास भएका करिव ३ लाख चालक कार्ड विहीन भएको हुँदा सहज रूपमा लाइसेन्स पाउन अझै केही दिन लाग्ने विभागको भनाइ छ। विभागले आवस्यक परेको खण्डमा कार्ड छपाई २ सिफ्टमा गर्ने समेत योजना बनाएको छ । कार्ड छपाई दुई सिफ्ट गराए पनि लाइसेन्सको समस्या सुल्झिन त्यति सजिलो भने देखिँदैन।