१०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालकै अग्रणी महिला स्कुटर चालक कमला श्रेष्ठलाई यामाहाले सम्मान गरेको छ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ३० को दशकमा स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पुर्याउनुका साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो।
कमलाले छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिड्नु चुनौतीपूर्ण रहेको बताइन्।
श्रेष्ठ हाल नेपाल उद्योग तथा वाणिज्य महासंघकी कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीकी अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्ष समेत छिन्।
कमला श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।
कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा हेरिए पनि हिजोआज पुरुषले पनि स्कुटर मन पराइरहेको बताए।
यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो।