सात वर्षअघि, चीनको बिवाइडी नामक गाडी कम्पनीले विद्युतीय बसको मोडल प्रस्तुत गरेको थियो। बेल्जियमको औद्योगिक प्रदर्शनीमा कम्पनीले सार्वजनिक गरेको उक्त बस धेरैलाई ‘मजाक’ लागेको थियो।
‘त्योबेला हाम्रो बसलाई धेरैले खेलौना भनेर मजाक उडाए,’ बिवाइडी युरोपका प्रबन्ध निर्देशक इज्ब्रान्ड होले भने, ‘आज हेर्नुहोस् त, सबैसँग विद्युतीय गाडी छन्।’
अचानक विद्युतीय गाडीको रफ्तार यसरी बढ्यो, पछिल्ला तीन वर्षमा सहरी यातायात संरचना नै बदल्ने कडी बन्यो। यही कडीले खनिज इन्धनबाट चल्ने गाडीलाई सहजै छेउ लगाउँदै गएको छ।
हालै ब्लुमवर्गले सार्वजनिक गरेको तथ्यांकले यो पुष्टि गर्छ। विद्युतीय गाडीको उत्पादन र प्रयोग बढेसँगै तेलको माग निरन्तर कम हुँदै गएको छ। यसमा चीनको ठूलो भूमिका छ।
सन् २०१७ मा विश्वमै भएका विद्युतीय बसमध्ये चीनमा उत्पादित मात्र ९९ प्रतिशत थिए। यसको संख्या करिब ३ लाख ८५ हजार थियो।
अहिले चीनले हरेक पाँच सातामा ९ हजार पाँच सय वटा ठूला विद्युतीय बस ल्याइरहेको छ। यसले गर्दा तेलको माग एकाएक घट्दै गएको छ। ब्लुमवर्ग न्यू इनर्जी फाइनान्सको रिपोर्टका अनुसार यो वर्ष तेलको माग दैनिक २ लाख ६९ हजार ब्यारेल कम भएको छ। यो भनेको पहिलेको तुलनामा ३७ प्रतिशत कम हो।
चीनले यसरी ह्वारह्वार्ती बस ल्याउनुको कारण पनि यही हो। विद्युतीय गाडी संचालनमा आए तेलको माग कत्तिको कम हुने रहेछ भन्ने अनुगमन गर्न यो रफ्तार कायम गरिएको हो। यही क्रम जारी रहे तेल बजारमा असर पर्दै जाने ब्लुमवर्गको अनुमान छ।
ब्लुमवर्गका अनुसार ब्याट्रीबाट चल्ने करिब एक हजारवटा बस सडकमा गुडाइयो भने दिनहुँ ५०० ब्यारेल तेल खपत कम हुन्छ।
त्यस्तै, सबभन्दा महँगो ताररहित चार्जर भएको ११० किलोवाट ब्याट्रिबाट चल्ने विद्युतीय बसले वर्षको ६० हजार किलोमिटर चल्ने इन्धन बससँग प्रतिस्पर्धा गर्न सक्छ।
यसहिसाबमा सानो ब्याट्रि भएका बसमा समेत महँगा चार्जर भए मध्यम आकारको सहरमा मज्जाले चलाउन सकिन्छ। यो भनेको दिनको करिब १७० किलोमिटर हो।
‘संसारभरका व्यस्त सहर प्रदुषित छन्। प्रदूषण सहरको ठूलो चुनौती भएको छ,’ ब्लुमवर्गको लन्डनस्थित अनुसन्धान केन्द्रमा आधुनिक यातायात विभाग प्रमुख कोलिन म्याकेर्राचरले भने, ‘विद्युतीय बसको बिक्रीले सकारात्मक नतिजा दिन थालिसकेको छ।’
चीन झन् विश्वमै प्रदूषणबाट पीडित देश हो। बर्क्ली अर्थको प्रतिवेदन अनुसार बढ्दो जनसंख्या र विभिन्न कारणले बढेको प्रदूषणकै कारण सन् २०१५ मा १६ लाख बढी मान्छे मरेका थिए।
चीनले यसको समाधानमा बेजोड प्रयास गरेको छ। विश्वमै धेरै मात्रामा सवारीसाधन उत्पादन गर्ने चीनले आफ्ना सहरहरूमा गुड्ने इन्धन गाडी पन्छाउँदै लगेको छ। गत वर्ष डिसेम्बरसम्मको आँकडा अनुसार सेन्जेनमा जम्मा १६ हजार ३ सय ५९ बस कुद्थे, र यी सबै विद्युतीय हुन्।
बिवाइडीले मात्र चीनको विद्युतीय बस बजारमा १३ प्रतिशत हिस्सा ओगटेको छ। सेन्जेनमै बिवाडीका १४ हजार बस छन्। ‘यसले अहिलेसम्म ३५ हजार वटा बनाइसकेको छ भने वार्षिक १५ हजार उत्पादन गर्ने क्षमता छ,’ प्रबन्ध निर्देशक होले भने।
चीनमा भएको यो परिवर्तनले ६ अर्ब ८० करोड लिटर तेल जोगाएको आकलन छ। त्यस्तै १ करोड ८० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट रोकिएको हो बताउँछन्।
चीनभरमै विद्युतीय बसको हिस्सा १७ प्रतिशत पुगिसकेको छ।
सेन्जेनको वातावरण अहिले छेउछाउका सहरभन्दा निकै सुधार भएको हो बताउँछन्। सेन्जेनको यो परिवर्तन विश्वका अन्य सहरले पनि देखिरहेका छन्। लन्डन, पेरिस, मेक्सिको र लस एन्जलससहित अन्य १३ सहरले सन् २०२५ देखि पूर्णरूपमा विद्युतीय सवारीमात्र किन्ने घोषणा गरेका छन्।
लन्डनमा इन्धन बस विस्थापन गर्ने तयारी भइरहेको छ। लन्डनको बस सञ्जालले प्रतिवर्ष १५ लाख ब्यारेल तेल खपत गर्छ। विद्युतीय बस चलाइयो भने हजारवटा बस बराबर दिनको ४३० ब्यारेल तेल कम खपत हुनेछ। यसले लन्डनको डिजेल खपत ०.७ प्रतिशत कम हुनेछ।
(फोर्ब्स र ब्लुमवर्गको सहयोगमा)