नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले कुल १ अर्व ४० करोडको लगानीमा सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको ड्राइभिङ र मेकानिकल ट्रेनिङ इन्ष्टीच्यूट बनाउने तयारी गरेको छ।
अहिले नेपालमा ड्राइभिङ तथा मेकानिकको काममा जनशक्तिको अभाव रहेको र विदेसी जनशक्ति प्रयोग गर्नु परेकोले यो काम सुरु गर्न लागेको नाडा अटोमोवाइल एसोसियसन अफ नेपालका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले बताए।
‘गाडी बनाउने मेकानिक १० प्रतिशत पनि नेपाली छैनन्। भारतीय मेकानिक लगाउनु पर्छ’ उनले भने ‘नेपाली युवाहरु ३० हजारको लागि विदेश पलाएन भएका छन्, उता विदेशीहरु नेपाल आएर महिनाको २/३ लाख कमाउँछन्।’
यो तालिमबाट युवाहरुले स्वदेशमै रोजगारी पाउने र विदेशै गएपनि राम्रो कमाई हुने उनले बताए।
एउटा ट्रेनिङ इन्ष्टीच्यूट बनाउन थोरैमा १० विघा जग्गा र करिव २० करोड लागत लाग्ने दुलालले बताए। ‘हामीलाई अहिले जग्गाको मात्र समस्या हो, जुन प्रदेशले पहिले जग्गा दिन्छ त्यही पहिले काम सुरु हुन्छ’ दुलालले सेतोपाटीसँग भने।
संस्थामा खाने र बस्ने समेत सुविधा हुने नाडाले जनाएको छ। संस्थागत सामाजिक उत्तर दायित्वको लागि नाफाको १ प्रतिशत बुझाउनु पर्ने रकम इन्ष्टीच्यूट बनाउन खर्च गरिने नाडाको भनाइ छ।
एउटा संस्थाबाट मासिक ५ सय दक्ष कामदार तयार हुने बताइएको छ। जस अनुसार सातै प्रदेशका संस्थाहरुले वार्षिक ४२ हजार दक्ष कामदार तयार पार्नेछन्।
यसरी दिने तालिम ३५ दिनको हुने दुलालले जानकारी दिए। नाडाले ५ वर्षपछि यी संस्था सरकारलाई हस्तानान्तरण गर्ने छ। तत्काल जग्गा भेटिए ५ वर्ष भित्र सम्प्ुर्ण काम सकिने नाडाको दावी छ।