कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि भारतको राजधानी नयाँदिल्लीसम्म सिधा बस सेवा सुरू भएको छ।
मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतले पहिलोपटक शुक्रबारबाट सुर्खेत–दिल्ली बस सेवा सुरू गरेको छ।
उपचार एवम् रोजगारीका लागि दिल्लीसम्म जाने यात्रुहरूको सहजताका लागि बस सेवा सुरू गरिएको संघका अध्यक्ष विष्णुबहादुर खड्काले बताए। यात्रुहरूको चापलाई हेरेर सेवा विस्तार गर्ने समेत उनले बताएका छन्।
मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले हाललाई सातामा दुई पटक सुर्खेतबाट बस छुटाउने जनाएको छ। दिल्ली जाने बस ३५ सिट क्षमताका छन्।
सुर्खेतदेखि दिल्लीसम्मको भाडा २ हजार ४ सय रहेको छ। सुर्खेतबाट दिल्ली जान ६३४ किलोमिटर दूरी पर्छ। कर्णाली प्रदेशका सबै जिल्लाका अधिकांश भागहरूबाट रोजगारी र उपचारका लागि नेपालीहरू भारत जाँदै आएका छन्।
रोजगारीका लागि गएर फर्किने क्रममा भारतमा लुटिने गरेका कारण नेपालीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउन र ल्याउनका लागि पनि बस सेवा सुरू गरिएको अध्यक्ष खड्काले बताए।
संघका अनुसार सुर्खेतबाट आइतबार र बुधबार तथा दिल्लीबाट मंगलबार र बिहिबार बस छुट्ने छन्।
सुर्खेतबाट सञ्चालन हुने बस रुपैडिहा, बरेली, गाजियाबाद हुँदै दिल्ली पुग्ने छ। दिउँसो ३ बजे सुर्खेतबाट छुट्ने बस दिल्लीमा बिहान ५ बजे पुग्ने संघले जनाएको छ।