समितिबाट हटेर सिद्धार्थ यातायातले कम्पनीमार्फत सेवा सुरु गरेको छ।
समितिका सवारी साधनलाई रुट पर्मिट नदिनेगरी सरकारले नयाँ व्यवस्था गरेपछि सिद्धार्थले शुक्रबारदेखि कम्पनीमार्फत सेवा थालेको हो।म्पनीमार्फत यातायात सेवा थाल्नेमा रुपन्देही जिल्लामै सिद्धार्थ पहिलो हो।
सिद्धार्थले १८ वटा सवारीसाधन मार्फत सेवा थालेको छ। भैरहवाको बेलहियादेखि बुटवलको गोलपार्कसम्म ति सवारीसाधन संचालन भएका छन्।
सेवा शुभारम्भ गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले सिन्डिकेट तोड्ने सरकारी निर्णयमा हातेमालो गरेको भन्दै प्रशंसा गरे।
उनले सवारीसाधनमा बृद्धबृद्धा र अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकता दिन आग्रह गरे। नगरपालिका सधै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
कम्पनीले छोटो रुटका बसमा पनि टिकटको व्यवस्था गर्ने अध्यक्ष सूर्यकुमार सारु मगरले बताए। कम्पनीले दोस्रो चरणमा भैरहवा–लुम्बिनी रुटमा समेत सेवा विस्तार गरी एसी सुविधा सहितका थप बस संचालन गर्ने जनाएको छ।
एसी बस अपाङगमैत्री हुनेछन् भने पूर्ण अपाङ्गता परिचयपत्र भएकालाई शत प्रतिशत छुटको व्यवस्था समेत हुने अध्यक्ष मगरले बताए। आगामी दिनमा रुपन्देहीका सबै ग्रामीण क्षेत्र, प्रदेश नम्बर ५ हुँदै देशव्यापी रुपमा नै सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ।
कम्पनीले चालकलाई जिम्मेवार बनाउन प्रशिक्षण केन्द्र समेत संचालन गर्ने जनाएको छ। कम्पनीको ५ करोड अधिकृत पुँजी र ३ करोड ५० लाख चुक्ता पुँजी छ। सञ्चालनमा आएका सिद्धार्थका सवारी साधनहरुमा एकै किसिमको रङ प्रयोग गरिएको छ।