झन्डै १४ करोड लगानीमा लुम्बिनीमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनिरहेको छ। एसियाली विकास बैंकको सहयोगमा लुम्बिनी क्षेत्र विकास कोषले लुम्बिनीस्थित संग्राहलयनजिक चार्जिङ स्टेशन निर्माण गरिरहेको छ।
एडिबीमातहतको एसियन क्लिन इनर्जीले विकास कोषसँग ठेक्का सम्झौता गरीचार्जिङ स्टेशन बनाउन लागेको हो। बर्खाका कारण अवरोध भएको काम अहिले फेरि सुचारू भएको छ। तीन महिनापछि चार्जिङ स्टेशन तयार हुनेछ।
५ वटा वातानुकुलित बस, ११ वटा कार र स्टेशन बनाउन पर्यटन मन्त्रालयमार्फत एडिबीले २७ करोड रूपैयाँ कोषलाई दिएको छ। कोषको जग्गामा बन्न लागेको स्टेशनमा १३ करोड ९० लाख रूपैयाँ खर्च हुनेछ।
विकास कोषका निमित्तसदस्यसचिव सरोज भट्टराईले तत्कालको लागि मात्र नभई दिर्घकालीन योजनाका साथ स्टेशन निर्माण गरिएकोले लागत महंगो देखिएको बताए।
स्टेशनमा २४ वटा चार्जिङ मेसिन राखिनेछ भने ८० वटा अटो रिक्सा चार्जिङ गर्ने प्लग राखिनेछ।
सदस्य सचिव भट्टराईले बस र कारको चार्जिङसँगै लुम्बिनीभित्र चाहिने सबै विद्युत सोही स्टेशनबाट उत्पादन गर्ने सोलार प्यानल राखिने बताए। तत्कालको लागि सोलारबाट १ सय ५० किलोवाट विद्युत उत्पादन गरिनेछ।
‘अहिले लुम्बिनीमा २ मेगावाट विद्युत आवश्यक पर्छ, हाम्रो योजना यहाँ खपत हुने सबै विद्युत यही सोलार प्यानलबाट उत्पादन होस् भन्ने छ,’उनले भने,‘स्टेशनबाट उत्पादन भएको विद्युत लुम्बिनी भित्र र बाहिर समेत प्रयोग गर्न सकिने गरी स्टेशन बनाउँदैछौं।’
विद्युत उत्पादनको लागि सोलार प्लान्ट, पार्किङ, त्यहाँसम्म पुग्ने बाटो, विद्युत संकलन केन्द्र, ब्याट्री सबै सोही लागतमा निर्माण गरिने उनले जानकारी दिए।
‘यहाँ निर्माण भइरहेको स्टेशन सामान्य होइन, साउण्डप्रुफ हो, चार्जिङको लागि आउने बस, कारको आवाज बाहिर सुनिदैंन,’ उनले भने, ‘मेसिनसँगै त्यहाँ प्रयोग हुने ब्याट्री, सोलार प्यानललगायतका सबै सामान जापानमा निर्मित गुणस्तरीय रहेकोले केही महंगो भएको छ।’
अहिले एउटा चार्जिङ मेसिनको बजार मूल्य ७ देखि ८ लाख रूपैयाँ भएको उनले बताए।
पटकपटक काम गर्नुभन्दा पनि पछि उत्पादन थप गर्न मिल्ने गरी स्टेशन निर्माण गर्न लागिएको उनको दाबी छ।
स्टेशन निर्माणपछि एउटा बस चार्ज हुने ४५ मिनेट लाग्ने एकपटक फुल चार्ज भएको गाडी ४ सय किलोमिटर गुड्नेछ।
एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो।
सम्झौताअनुसार दुई वटा बस नेपाल आइसकेका छन्। तत्काल लुम्बिनीमा चार्जिङ स्टेशन लगायत पूर्वाधार बन्न बाँकी रहेकाले ती बस काठमाडौंमा साझा यातायातले चलाइरहेको छ।
यसैबीच बुधबार भैरहवा पुगेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले चार्जिङ स्टेशनलगायत पूर्वाधार बनेपछि ती काठमाडौंमा चलिरहेका बस लुम्बिनी ल्याइने बताएका छन्।
लुम्बिनीमा अहिले पूराना बस र जीप सञ्चालन छन्। सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकले पुराना बसमा कष्टभोगिरहेका छन्।