नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जामा कडाई गरेपछि अटो बजार खस्किएको छ। बैंकले कर्जामा कडाई गरेपछि सवारी साधनको विक्री ४० प्रतिशतसम्म घटेको व्यवसायीहरु बताउँछन्।
राष्ट्र बैंकले गत फागुनदेखि निजी प्रयोजनका लागि खरिद गरिने सवारी साधनको कर्जा सीमा ५० प्रतिशत तोकिदिएको छ।
यसअघि बैंकले सवारीसाधन खरिद गर्दा ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएका थिए।
सवारी साधनको कर्जामा राष्ट्र बैंकको कडाईसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि व्याजदर चर्को गराएका छन्।
रुपन्देही र आसपासका क्षेत्रमा विगतभन्दा न्यून रुपमा गाडी खरिदविक्री हुने गरेको अटो व्यवसायी बताउँछन् ।
‘विगतमा यो समय गाडीहरु धेरै विक्री हुन्थे । तर, योपटक अटो बजारमा उत्साह देखिएन’, बज अटोमोवाइल्स कम्पनी प्रा लि भैरहवाका प्रबन्ध निर्देशक हरिबहादुर थापाले भने।
यो वर्ष दसैं, तिहार र छठ पर्वमा समेत अटो कारोबार उत्साहजनक नभएको थापाले बताए।
अघिल्लो वर्ष चाडवाडमा ८ सय ५० बढी मोटरसाइकल विक्री गरेका उनले यसपटक भने ७ सय मात्रै विक्री गरेको बताए।
‘अहिले दुई पांग्रेदेखि ठूला गाडीको समेत कारोबार न्यून छ। एकदुई वर्षअघि कारको बजार राम्रो थियो। अहिले ठप्प जस्तै छ। यस्तै भईरहे व्यसाय नै धरापमा पर्नसक्छ’, बुद्धम् अटोमार्ट भैरहवाका प्रवन्ध निर्देशक अभिनवमयूर कसौधनले भने।
अघिल्लो वर्षका पर्वहरुमा ३० भन्दा बढी गाडी विक्री गरेका कसौधनले यसपटक भने १२–१३ वटा मात्रै विक्री भएको प्रवन्ध निर्देश्क कसौधनले बताए।
अटो बजारमा सिथिलता आएसँगै आयात समेत घटेको छ। दुईपाँग्रे मोटरसाइकल र तीनपाँग्रे टेम्पोबाहेक अन्य सबै किसिमका सवारी साधनको आयात घटेको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भैरहवास्थित बेलहिया नाका हुँदै अटो आयातमा गिरावट आएको भन्सार तथ्यांकले देखाउँछ।
‘अधिकांश सवारी आयातमा गीरावट आएको छ। सामान्य एकदुई किसिमका सवारी आयात बढेपनि चारपांग्रे र ठूला सवारी आयात खस्कदोक्रममा छ। यसले नेपाली अटो बजारमा खरिद/विक्री ह्वात्तै घटेको देखाउँछ’, भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भने।
भन्सार तथ्यांकअनुसार यसवर्ष पहिलो त्रैमासिकमा बेलहिया नाकाबाट ५ अर्ब ३५ करोड रुपैयाँ बराबरका ५९ हजार ३ सय ५३ गोटा मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।
अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरका ४१ हजार २७९ गोटा मोटरसाइकल एवं स्कुटी आयात भएका थिए। यी सवारी साधनसँगै चालु आर्थिकवर्षमा तीनपांग्रे टेम्पो एवं विद्युतीय सवारी ई–रिक्साको आयात समेत बढेको छ।
यो वर्ष १९ करोड ३४ लाख रुपैयाँ बराबरका १२ सय २५ टेम्पो तथा ई–रिक्सा आयात भएको छ। अघिल्लो वर्ष ६ करोड १६ लाख रुपैयाँ बराबरका ४ सय २० गोटा टेम्पो र ई–रिक्सा आयात भएका थिए।
यीबाहेक अन्य सबै किसिमका सवारी आयात भने अघिल्ला वर्षभन्दा घटेका छन्। ‘भन्सार तथ्यांकले पनि नेपाली अटो बजारमा भारी गीरावट आएको देखाउँछ ।
भन्सार तथ्यांकअनुसार चालू आर्थिक वर्षमा कार, जीप, भ्यान १ अर्ब ६८ करोडको २ हजार ३ सय ५ आयात भएका छन्।
जबकी अघिल्लो आर्थिकवर्षमा २ अर्ब १७ करोड मूल्य बराबरको ३ हजार २७ गोटा आयात भएका थिए।
यस्तै, गत वर्ष ४८ करोड ९८ लाख रुपैयाँ बराबरको २ सय ९१ गेटा बस आयात भएकोमा चालू आर्थिक वर्षमा घटेर १८ करोड २८ लाख रुपैयाँ बराबरका १ सय ५ गोटा आयात भएका छन्।
अघिल्लो वर्ष ५६ करोड २२ लाख रुपैयाँका ९ सय ६१ गोटा सिंगल क्याब पिकअप जीप आयात भएकोमा चालू आर्थिक वर्षमा घटेर ३४ करोड ८२ लाख रुपैयाँका ६ सय २३ गोटामा सीमित भएको छ।
यसैगरी डबलक्याब पिकअप गत वर्ष ५ सय ८ वटा आयात हुँदा चालु वर्षमा २ सय ९५ वटामा खुम्चिएको छ। ट्रक, मिनी ट्रक, मिनी बस, ट्याक्टरको आयात समेत गतबर्ष भन्दा घटेको भन्सारले जनाएको छ।
अघिल्लो वर्ष ट्रक, मिनी ट्रक ८२ करोड ८ लाख रुपैयाँको ८ सय ६३ गोटा आयात भएकोमा यसवर्षको तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँका ६ सय १९ गोटा मात्रै आयात भएको छ।
ट्याक्टर गतवर्ष ८८ करोड १७ लाखका ९ सय ५९ गोटा आयात भएकोमा यसवर्ष ५१ करोड ८० लाखका ४ सय १४ मात्रै आयात भएको भन्सार अधिकृत पौडेलले बताए।
अटोमा सरकारी नीति कडाई हुनु, बैंकिङ कर्जा नीति यथावत हुनु र बढ्दो ब्याजदर, जग्गा कारोबारमा मन्दी, नेपालीहरुको क्रयशक्ती कम हुँदै जानु, केही आयातकर्ताहरु अन्यत्र नाकातर्फ डाईभर्ट हुनुलगायतका कारणले अटो आयातमा गीरावट आएको सूचना अधिकृत पौडेलको बुझाई छ।
रुपन्देहीमा दुईपांग्रे, चारपांग्रे तथा टेम्पो र ठूला सवारी गरी ४ दर्जन बढी अटोमोबाईल्सका सोरुमहरु छन्।