झन्डै ४ वर्षअघि सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै सरकारले इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको थियो। पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बन्यो। तर यातायात व्यवस्था विभाग अहिलेसम्म लक्षित संख्याको एक छेउ पनि पुगेको छैन।
चार वर्ष अवधिमा जम्मा ११ हजार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ।
२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।
तर विभिन्न कारण देखाउँदै योजनाअनुरूप काम सकिएन।
२०७४ भदौदेखि सरकारी सवारी साधनमा अनिवार्य र अन्य साधनमा ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था पनि सुरू भयो। सरकारी सवारी साधनमा यो लागू भए पनि निजी तथा अन्य सवारीले प्रणालीमा उति चासो देखाएका छैनन्।
तर विभागका महानिर्देशक नमराज घिमिरे आगामी दुई वर्षमा सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट राखिसक्ने बताउँछन्।
'अबको दुई वर्षमा सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नेछौं। तोकिएको मितिभित्रै २५ लाख इम्बोस्ड नम्बर प्लेट छापिने गतिमा काम भइरहेको छ,' महानिर्देशक घिमिरेले सेतोपाटीसँग भने।
इम्बोस्ड नम्बर प्लेट भटाभट छपाइ भइरहेको बताउँदै उनले दावी गरे, 'हामीसँग नम्बर प्लेट प्रिन्टिङमा कुनै समस्या छैन। तीन सिफ्टमा काम भए दैनिक नौ हजारसम्म नम्बर प्लेट छपाइ गर्ने क्षमता छ।'
तर अहिले दैनिक एक सिफ्टमा मात्र काम भइरहेको र दैनिक तीन हजारसम्म इम्बोस्ड नम्बर प्लेट छापिने उनले जानकारी दिए।
निजी तथा अन्य सवारीमा इम्बोस्ड प्लेट अनिवार्य गराउन विभागले योजना बनाएको छ। घिमिरेका अनुसार अबबाट नयाँ दर्ता हुने कुनै पनि सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट हुनुपर्नेछ। त्यस्तै, अन्य चल्तीका सवारीलाई निर्धारित समय तोकेर जडान गर्न लगाइनेछ।
हामीकहाँ हालसम्म ३७ लाख सवारी साधन दर्ता भएका छन्। त्यसमध्ये कति चलिरहेका छैनन्। त्यसैले २५ लाख अनुमान गरिएको हो र यति मात्रामा प्लेट छपाइ गर्न सरकारी तहबाट कुनै ढिलाइ नहुने घिमिरेको भनाइ छ। यसमा सर्वसाधारणले पनि जिम्मेवार भएर बुझ्नुपर्ने उनी बताउँछन्।
अहिले विभागले विभिन्न सवारीका प्रकार र प्रयोजनका आधारमा तोकेका २३ प्रकारका नम्बर प्लेट चल्तीमा छ। यी प्लास्टिकका नम्बर प्लेटमा हातैले लेखिएको हुन्छ।
महानिर्देशक घिमिरेका अनुसार इम्बोस्ड प्लेट भने जम्मा तीन प्रकारका हुन्छन्।
एउटा, सरकारी तथा संस्थाका सवारीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको।
अर्को, निजी साधनमा सेतो प्लेटमा कालो अक्षरले लेखिएको।
र तेस्रो, सार्वजनिक साधनमा पहेँलो प्लेटमा कालो अक्षरले लेखिएको।
इम्बोस्ड नम्बर प्लेटमा देवनागरीको सट्टा अंग्रेजीमा अक्षर र अंक लेखिन्छ। विभागका अनुसार यस्तो प्लेट ९९ प्रतिशत आलुमिनयमबाट बन्छ। यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सीट लेमिनेट गरिएको र अन्तर्राष्ट्रिय स्तरको हुने विभागले बताउँदै आएको छ।
यसको कडापन एच ४१ र एच ४२ हुन्छ भने मोटाइ ०.९८ मिलिमिटर। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड हुनेछ।
प्लेटको बाँया छेउको माथिल्लो भागमा नेपालको झन्डा र त्यसैको ठ्याक्कमुनि देश जनाउने गरी अंग्रेजीमा 'एनइपी' लेखिन्छ। र, त्यसमुनि सुरक्षात्मक होलोग्राम राखिएको हुन्छ।
त्यस्तै प्लेटमाथि अंग्रेजी अक्षरमा प्रदेशको नाम लेखिएको हुन्छ। त्यसको मुनि सवारीको लट जनाउने गरी र मुनि बढीमा चार अंकसम्मको गाडी नम्बर लेखिएको हुन्छ। यी सबै अंग्रेजीमै हुन्छ।
यस्तो इम्बोस्ड नम्बर प्लेट राख्न सवारीधनीले निश्चित शुल्क पनि बुझाउनु पर्छ। शुल्क यसप्रकार छः
• ठूलो सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रूपैयाँ।
• मझौला सवारी तथा सानो (चार पांग्रे सवारी) मा ३ हजार २ सय रूपैयाँ।
• सानो (तीन पांग्रे सवारी) मा २ हजार ९ सय रूपैयाँ।
• सानो दुई पांग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा जडान गर्न २ हजार ५ सय रूपैयाँ।
साधारण नम्बर प्लेटभन्दा इम्बोस्ड नम्बर प्लेट महँगो भएको गुनासो उपभोक्ताहरूले गर्दै आएका छन्।
यसबारे विभागका महानिर्देशक घिमिरे भन्छन्, 'मूल्यको विषयमा विवाद खिच्नु व्यक्तिगत हिसाबमा मलाई तर्कयुक्त लाग्दैन। किनभने यो कुनै व्यक्तिले आफ्नो फाइदाका लागि गरेको होइन। संकलित रकम सरकारको राजस्वमा जाने हो र त्यसैबाट सर्वसाधारणले सेवा पाउने हो।'
उनले यसमै थपे, 'करोडौंको गाडी चढेर २-४ हजारको नम्बर प्लेट राख्न महँगो भयो, लाखौंको बाइक चढेर २५ सयको नम्बर प्लेट राख्न महँगो भयो भन्नु अर्थहिन छ।'
इम्बोस्ड नम्बर प्लेटको छपाइ जिम्मा विभागले लिए पनि यसको वितरण प्रदेश मातहतका यातायात व्यवस्था कार्यलयहरूबाट हुँदैछ।
कुनै पनि सवारीमा इम्बोस्ड प्लेट जडान भएपछि त्यो सवारीको विवरण विभागको सिस्टममा अपलोड गर्नुपर्छ। यसका लागि टेकुस्थित सवारी फिटनेस परीक्षण केन्द्र (भिएफटिसी) सँग सहकार्य गरिएको महानिर्देशक घिमिरेले बताए।
परीक्षण केन्द्रबाट सम्पूर्ण निजी तथा अन्य गाडीमा इम्बोस्ड प्लेट जडान तथा विवरण संकलन गरी सिस्टममा अपलोड गरिन्छ। सरकारी गाडीमा यो प्रक्रिया भने यातायात व्यवस्था विभागमै भइरहेको छ।
महानिर्देशक घिमिरेका अनुसार इम्बोस्ड प्लेटमा 'आइएफआरडी' फिट गरिएको हुन्छ। यसले कुनै पनि नाकाबाट गाडी कतिबेला प्रवेश र प्रस्थान गर्यो भन्ने विवरण संकलन गर्न ट्राफिकलाई मद्दत मिल्छ। यसका लागि नाका गेटमा रडियो फ्रिकवेन्सी आइडेन्टिफिकेसन डिभाइस प्रयोग हुन्छ।
हाल थानकोटमा यस्तो गेट बनिरहेको उनले जानकारी दिए। यो गेट एक महिनाभित्र बनिसक्ने उनको भनाइ छ।
'त्यसपछि ट्राफिकले कति बेला कस्तो गाडी काठमाडौं प्रवेश गर्यो, यहाँबाट प्रस्थान गर्यो जस्तो विवरण हातले लेखेर संकलन गर्नुपर्दैन। इम्बोस्ड नम्बर प्लेटमा जडित आइएफआरडीले सवारीधनीको व्यक्तिगत विवरणमा हस्तक्षप नगरी गाडीको विवरण मात्र रेकर्ड राख्छ,' घिमिरेले भने, 'यसबाट सवारीको स्थिति, राजस्व तिरे-नतिरेको जस्ता विवरण संकलन गर्न सहयोग पुग्छ।'