यातायात कार्यालयको यस्तो बिजोग
सवारी चालक अनुमति पत्र (लाइसेन्स ट्रायल) उत्तीर्ण गरिसकेपछि शुक्रबार यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुना पुगेकी सम्झना श्रेष्ठले राजश्व तिरिन्। काउन्टरमा एक हजार पाँच सय तिरेपछि उनी अर्को झ्यालमा रसिद लिन लाइन बसिन्।
त्यहाँ आधा घन्टा कुरेपछि रसिद पाएकी उनले अब परीक्षणकालीन लाइसेन्स पनि पाइन्छ भन्ने सुनेकी थिइन्। केही समययता विभागले एक वर्षका निम्ति परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आइरहेको छ।
परीक्षणकालीन लाइसेन्सका लागि सोही भवनमा रहेको छेउतर्फको झ्यालमा सम्झना लाइन बसिन्। झ्याल बन्द थियो।
दुई घन्टा उभिइसक्दा पनि त्यो झ्याल खुलेन।
'ढकढक्याउनुस् त खुल्छ कि?' छेउका मान्छेले भने।
सम्झनाले जोडले झ्याल ढक्ढक्याइन्। केही बेरमा बल्लतल्ल झ्याल खुल्यो।
'किन झ्यालमा ठटाउनुभएको,' भित्रबाट एक कर्मचारीले चर्को स्वर गरे।
'परीक्षणकालीन लाइसेन्स लिन,' सम्झनाले उनलाई जवाफ दिइन्।
'छैन सकिएको छ। अब एक वर्षपछि यो रसिद लिएर आउनुस्, स्मार्ट लाइसेन्स पाइहालिन्छ,' ती कर्मचारीले भने।
सम्झना झ्यालबाट पछाडि सरिन्।
'विभागले एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स भन्दै एउटा कार्ड दिन्थ्यो। तर अहिले किन दिइएन,' उनी एकछिन अलमलिइन् र त्यहाँबाट बाहिरिन्। दुई घन्टासम्म पर्खेर बस्दा उनलाई यसबारे कसैले जानकारी पनि दिएन।
लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सर्लाहीका पप्पुसिंह दनुवार पनि सम्झनाझैं राजश्व बुझाएर रसिद मात्र लिएरै फर्कनु पर्यो।
'अब एक वर्षपछि पनि स्मार्ट लाइसेन्स पाइन्छ कि पाइँदैन,' कार्यालय परिसरमा भेटिएका उनले भने, 'रसिदलाई ट्राफिकले पत्याउँदैन। नागरिकता पनि साथै बोक्नुपर्छ। एकदमै झन्झट छ। परीक्षणकालीन लाइसेन्स भए कति सजिलो हुन्थ्यो।'
पप्पुले सरकारले आफूहरूलाई झुक्याएको भन्दै गुनासो गरे, 'कि दिँदै नदिनु। दिने भनेपछि त यसरी किन झुक्याउनु? कि त पाइँदैन भनेर जानकारी दिन पर्यो। यसरी कुराएर नदिइ पठाउन त भएन नि।'
यातायात व्यवस्था विभागले केही समय अगाडिदेखि मात्रै ट्रायल पास भएपछि सुरूको एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेले क्युआरकोड सहितको यही लाइसेन्स नै स्मार्ट लाइसेन्सको विकल्प हुन सक्ने समेत बताएका थिए। तर वितरणको सुरूआतमै परीक्षणकालीन लाइसेन्स नै अभाव भएको पाइएको छ।
परीक्षणकालीन लाइसेन्स सबै कार्यालयहरूबाट वितरण पनि भइसकेको छैन। तर अहिल्यै कार्ड अभाव हुँदा ट्रायल उत्तीर्ण गरेर कार्डको प्रतीक्षामा झ्यालमा घन्टौं कुरेर पनि सेवाग्राही रित्तै फर्कनुपर्ने अवस्था सिर्जना हुन थालेको छ।
उता विभागका सूचना अधिकारी लोकनाथ भुसाल भने कार्ड वितरण भइरहेको दावी गर्छन्।
'मलाई परीक्षणकालीन लाइसेन्स कार्ड अभावबारे केही जानकारी आएको छैन,' उनले भने, 'महानिर्देशक अथवा सम्बन्धित कार्यालयमै बुझ्नुस्। म पनि बुझेर भनौंला।'
हामीले विभागका महानिर्देशक नमराज घिमिरेसँग यसबारे जानकारी लिन फोनसम्पर्क गर्यौं। तर उनको कुनै प्रतिक्रिया आएन।
के हो परीक्षणकालीन लाइसेन्स?
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधि परीक्षणकालीन लाइसेन्स दिन थालेको हो। विभागले ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिन थालेको थियो। पहिलो चरणमा एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्स वितरण सुरू गरेर पनि यसलाई देशैभर वितरण गरिने विभागले बताएको थियो।
उक्त कार्डमा विभागले सक्कली, नक्कली छुट्याउने क्युआर कोड राखेको छ।
यो कार्डमा क्युआर कोड स्क्यान गरेर चालकको विवरण हेर्न सकिन्छ। क्युआर कोड रिड गर्ने एप ट्राफिक प्रहरीको मोबाइलमा हुन्छ। उनीहरूले त्यो एपमार्फत रिड गरी सक्कली वा नक्कली भनेर छुट्याउन सक्ने हुँदा कार्ड विश्वासिलो पनि भएको विभागको भनाइ छ।
पहिलो चरणमा विभागले यसलाई एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँचपटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउनेछन्।
विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।
लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा लाखौं चालक स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेले पनि लामो समयदेखि पाएका छैनन्।
विभागका अनुसार हाल चार लाख बढी चालक स्मार्ट कार्डबाट बञ्चित छन्। उनीहरू राजश्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।
यी पनि पढ्नुहोस्ः
दुई दिन धाएर, ५ कोठाको चक्कर काटेपछि बल्ल लाइसेन्स आवेदन
औंठाछाप चाबहिलमा, लिखित दिन सुकेधारा, ट्रायल दक्षिणढोका