एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी आउने पर्यटकलाई घुमाउनका लागि विद्युतीय गाडी किनिदिएको एक वर्ष पुग्यो। वर्ष दिनसम्म पनि एडिबीले दिएका पाँच बस र १४ ट्याक्सी सञ्चालन हुन सकेका छैनन्।
एडिबीले सन् २०१८ जनवरी ९ तारिखमा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेशन र सोलारसमेत उपलब्ध गराउने सम्झौता गरेको थियो।
सम्झौता अनुरूप एक वर्षअघि ती बस र ट्याक्सी लुम्बिनी आइपुगेका थिए।
एडिबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टमार्फत् विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो। एसियाली विकास बैंकको करिब ३५ करोड अनुदानको यो प्रोजेक्टमा बस र ट्याक्सीको लागिमात्रै भन्सार शुल्कसहित २१ करोड तिरेको छ।
एडिबीले १३ करोडमा ल्याएका ५ वटा बस र १४ वटा ट्याक्सीको लागि ८ करोड भन्सार शुल्क तिरेको लुम्बिनी विकास कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले जानकारी दिए।
विद्युतीय गाडीसँगै गाडी चार्जको लागि चार्जिङ स्टेशन र सोलार प्लान्ट पनि पोहरो साल नै जडान गरिएको थियो। तर गाडी कसरी चलाउने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराज शाक्य एडिबीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडेर विद्युतीय गाडीहरू पठाएकाले विमानस्थल सञ्चालन हुँदा गाडीहरू पनि सञ्चालन हुने बताए।
यी गाडी नेपाल सरकारले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छैन। त्यसैले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने भन्ने कार्यविधि पनि बनिसकेको छैन।
कोषका सदस्यसचिव शाक्यका अनुसार त्यस्तो कार्यविधि बनाउने तयारी भने छ। भैरहवा विमानस्थलबाट लुम्बिनीको रूटमा चलाउने योजना रहेको पनि उनले बताए।
शाक्यले कोष आफैंले विद्युतीय सवारीसाधन सञ्चालन गर्ने अवस्था नरहेकाले टेन्डर आह्वान गरी अरू पर्यटनलाई चलाउन दिने भन्ने विषयमा छलफल भइरहेको बताए।
शाक्यका अनुसार कोरोना महामारीका बीचमै ल्याइएकाले कतिपय गाडीहरूको सिसा फुटेको र मर्मत गर्दा नै ५/६ महिना समय लागेकोले पनि गाडी हस्तान्तरण र सञ्चालनमा ढिलाइ भएको हो। अहिले एसियन क्लिन इनर्जीले बेलाबेला गाडीहरू चार्ज र स्टार्ट गर्दै राख्दै आएको छ।
लामो समयसम्म सञ्चालनमा आउन नसक्दा महँगो मूल्यका यी सवारीसाधन आफैं बिग्रने जोखिम बढेको छ।
अहिले यी बस र ट्याक्सी पार्किङ स्थलमा खुला आकाशमूनि राखिएका छन्।
अन्तर्राष्ट्रिय स्टान्डर्डका यी बसमा कार्ड भुक्तानी गर्ने अटोमेटिक सिस्टम जडित रहेको कोषले जनाएको छ। यहाँ ल्याइएका बसमा १९ र ट्याक्सीमा पाँच सिटका छन्।
लामो समय खुल्ला आकाशमूनि राख्दा गाडी टायर मक्किने र गाडीमा खिया लाग्ने जोखिम बढेको छ।
वातानुकुलित, अपाङमैत्री र स्वचालित ढोका रहेको बस चार्जिङको लागि एडिबीकै सहयोगमा सोलार प्लान्ट र चार्जिङ स्टेशनसमेत निर्मण भइसकेको छ। एक पटक फुल चार्ज गरेको बस चार सय किलोमिटरसम्म गुड्ने क्षमता रहेको छ।
यही प्रोजेक्टअन्तर्गत सोलारबाट विद्युत उत्पादनको काम समेत सम्पन्न भइसकेको छ। गाडीहरू चार्जिङको लागि सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत चार्जिङ स्टेशनमा पठाइसकिएको छ।
एसियन क्लिन इनर्जीका नेपाल साझेदार चिरञ्जीवी थापाले लुम्बिनीमा निर्माण गरिएको चार्जिङ स्टेशन दक्षिण एसियाको सबैभन्दा ठूलो भएको दाबी गर्छन्।
प्रतिप्यानल २ सय ६० वाटका ५ सय ९४ वटा सोलार प्यानलमार्फत् उत्पादित विद्युत ब्याट्रीमा स्टोर गरी रातिको समयमा समेत गाडीहरू चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ।
निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै जडान गरिएको सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रिड हुँदै चार्जिङ स्टेशनमा पुर्याइएको हो।
सोलार प्लान्टबाट उत्पादित विद्युत प्राधिकरणको ग्रिडमा जोडिएकाले गाडीहरू चार्ज गर्न नपाए पनि खेर जान भने नगएको थापाले बताए।
विद्युत उत्पादनको लागि सोलार प्लान्ट, पार्किङ, त्यहाँसम्म पुग्ने बाटो, विद्युत संकलन केन्द्र, ब्याट्री चार्जलगायत सम्पूर्ण काम सम्पन्न भएको एक वर्ष पूरा हुँदै छ।
यहाँ निर्माण गरिएको चार्जिङ स्टेशन 'साउन्डप्रुफ' छ। चार्जिङको लागि आउने बस, कारको आवाज बाहिर नसुनिने थापाले जानकारी दिए।
चार्जिङ स्टेशनमा गाडी चार्ज गर्न मिल्ने ३३ वटा स्ट्यान्ड राखिएको छ। यिनमा तीन वटा क्विक चार्जर रहेका छन्। त्यस्तै इलेक्ट्रिक रिक्सा चार्जको लागि समेत प्वाइन्ट राखिएको छ।
एडिबीले चार्जिङ स्टेशनको लागिमात्रै १३ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो।