फ्रेस्को मोटर्सले ८ सिटर विद्युतीय गाडीको अनावरण गरेको छ। नर्वेजियन विद्युतीय गाडी स्टार्टअप फ्रेस्कोले बुधबार विद्युतीय फ्रेस्को एक्सएल अनावरण गरेको हो।
अमेरिकी वेबसाइट 'इनसाइड इभीस्'का अनुसार यो फ्रेस्कोले एक पटकको पूरा चार्जमा एक हजार किलोमिटरसम्मको माइलेज दिन्छ। फ्रेस्को मोटर्सले केही समय अघि मात्रै 'रिभरी' नामक कन्सेप्ट कार सार्वजनिक गरेको थियो।
विद्युतीय फ्रेस्को एक्सएलमा थुप्रै विशेषताहरू भएको कम्पनीको भनाइ छ। जसले चालक र यात्रुको यात्रालाई सहज र आरामदायी बनाउँछ।
यसको क्याबिन निकै फराकिलो छ। फ्रेस्कोद्वारा सार्वजनिक गाडीको फोटामा यसभित्र ८ जना व्यक्तिको लागि ठाउँ पर्याप्त छ जस्तो देखिदैँन। तर रिपोर्टअनुसार यसमा ८ जना व्यक्ति सजिलै अटाउन सकिन्छ।
कार निर्माताकाअनुसार फ्रेस्को एक्सएलमा चार इलेक्ट्रिक मोटर, दुई तर्फी चार्ज गर्न मिल्ने चार्जिङ पोर्ट र ठूलो ब्याट्री जडित छ। यसैले एक पटकको चार्जमा कम्तीमा एक हजार किलोमिटरको माइलेज दिने बताइएको हो।
फ्रेस्कोले हालसम्म गाडीबारे सम्पुर्ण विवरण खुलाएको छैन। कम्पनीले नर्वेमा एक लाख युरो अर्थात् नेपाली एक करोड ३५ लाख रुपैयाँमा यो विद्युतीय कारको बुकिङ सुरू गरिसकेको छ।
फ्रेस्को एक्सएललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् अध्यक्ष एस्प्रिन क्यालभिनले डिजाइन गरेका हुन्। उनले यो कारलाई 'फ्रेस ब्रिथ अफ एयर' बताएका छन्।