किया इन्डियाले अर्को साता भारतीय बजारमा नयाँ एमपिभी (मल्टी पर्पोज भेइकल) सार्वजनिक गर्दैछ। कम्पनीले फेबुअरी १५ तारिखमा किया क्यारेन्स सार्वजनिक गर्ने घोषणा गरेको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार तीन-रो भएको यो एमपिभीको डेब्यू सन् २०२१ को डिसेम्बरमै भएको थियो। कम्पनीले भारतीय बजारको लागि यसको बुकिङ पनि खुलाएको थियो। बुकिङ खुलाएको २४ घण्टा नबित्दै यो क्यारेन्सको लागि ७ हजार ७ सयभन्दा बढी प्रि-अर्डर आएको कम्पनीले जनाएको छ।
नयाँ क्यारेन्स कियाको सेल्टस मोडलको प्लेटफर्ममा आधारित छ। किया इन्डियाले गत जनवरीदेखि आन्द्रा प्रदेशमास्थित अनन्तपुर म्यानुोफ्याक्चरिङ प्लान्टबाट गाडीको उत्पादन सुरू गरेको हो।
क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी पाँच विभिन्न ट्रिममा उपलब्ध हुनेछ।
भारतमा किया क्यारेन्स मल्टिपल पावरट्रेन र गियरबक्स विकल्पमा उपलब्ध हुनेछ। गाडी १.५ लिटरको नेचुरल्ली-एस्पिरेटेड पेट्रोल इन्जिन, १.४ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध हुनेछ। ट्रान्समिसनको लागि यसमा ६ स्पीड म्यानुअल, ७ स्पीड डुअल क्लच ट्रान्समिसन र ६ स्पीड अटोमेटिक गियरबसक्स विकल्प हुनेछ।
किया क्यारेन्समा एलइडी हेडल्याम्प छ। त्यस्तै यसको भित्री भाग निकै आकर्षक र फराकिलो छ। यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ भने १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ।
त्यस्तै, गाडीमा विद्युतीय सनरुफ, वायरलेस चार्जर, एयर प्युरिफायर, १६ इन्चको अलोय ह्विल, एलइडी टेललाइलगायत विशेषताहरू छन्। सुरक्षाको लागि क्यारेन्समा ६ वटा एयरब्याग, टायर प्रेसर मनिटरिङ, डाउनहिल ब्रेक कन्ट्रोल, एबिएस, इएससी, रिअर पार्किङ सेन्सर, ब्रेक असिस्ट प्रविधि, डिस्क ब्रेकलगायत विशेषताहरू समावेश गरिएको छ।
हालसम्म कम्पनीले गाडीको मूल्य सार्वजनिक नगरेपनि यसको भारतीय बजार मूल्य १२ लाखदेखि २० लाख रुपैयाँ हुने अनुमान छ। किया क्यारेन्सले बजारमा उपलब्ध हुन्डाईको अल्काजार, मारुती एक्सएल-६, महिन्द्रा मराज्जो र टाटा सफारीसँग प्रतिस्पर्धा गर्नेछ।