साझा यातायातले २०७४ फागुनदेखि काठमाडौंका सडकमा 'सेमी लो-फ्लोर' बस सञ्चालनमा ल्याएको थियो। साझाले यो बस हरेक दिन राति ११ बजेसम्म चलाउने भनेको थियो।
बिरामी तथा शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई लक्षित गरी साझाले अस्पतालहरूका रूटमा यो अपांगतामैत्री बस सञ्चालन गरेको थियो।
सामान्य बस भन्दा भुइँबाट कम उचाइ भएको यस्तो बसमा उक्लिन सजिलो हुन्छ। खुट्टा धेरै फड्कार्नु पर्दैन।
धूलाम्मे तथा खाल्डा-खुल्डीयुक्त सडकका बाबजुद पनि अपांगतामैत्री बस सञ्चालनमा ल्याएको भन्दै खुसी व्यक्त गरिएको थियो। उक्त बस ३५ लाख रूपैयाँमा किनिएको थियो।
बसले पाटन अस्पताल, अल्का, प्रसूतिगृह, नर्भिक, नेपाल आँखा अस्पताल, वीर, कान्ति बाल टिचिङ, गंगालाल अस्पताल रूट समेट्ने साझाले बताएको थियो। बस लगनखेल, त्रिपुरेश्वर, शहिदगेट, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बस बाँसबारीसम्मको रूटमा चल्थ्यो। सोही रूट फर्किन्थ्यो।
तर अहिले यो बस सडकमा भेटिँदैन।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका प्रमुख चिरिबाबु महर्जन तथा साझाका अध्यक्ष कनकमणि दीक्षितले संयुक्त रूपमा रिबन काटेर सुरू गरेको बस किन चल्न छाड्यो?
यसबारे हामीले साझा यातायातका सुपरभाइजर हरिराम मिश्रलाई सोध्यौं। मिश्रले यो बस करिब एक वर्ष सञ्चालनमा आएर थन्किएको बताए। कोभिड महामारीपछि यो बस सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए।
'हामीले एक वर्ष त चलायौं। तर सामान्य अवस्थामा पनि त्यति धेरै यात्रु भेटिँदैन थियो। सिट भर्न मुश्किल हुन्थ्यो। बल्लतल्ल २५ जना ३० जना भेटिन्थ्यो,' मिश्रले सेतोपाटीसँग भने।
साझाको यो बस ४० सिट क्षमताको हो। काठमाडौंमा राति ११ बजेसम्म चलाउँदा पनि सिट क्षमताअनुसार यात्रु पाउन नसकिएको उनी बताउँछन्।
बस सेवा शुभारम्भ गर्दै काठमाडौं र ललितपुरका मेयरले ट्राफिक व्यवस्थापनमा यो बसले निकै ठूलो सुधार गर्ने बताएका थिए। काठमाडौंका मेयर शाक्यले साझाका ठूला बसको संख्या कम्तीमा पनि एक सयको संख्यामा पुर्याउन पहल गर्ने बताएका थिए।
ठूला बसलाई प्राथमिकता दिँदै महानगर अघि बढ्ने उद्देश्यले साझासँग सहकार्य गरिएको उनको भनाइ थियो। तर हाल साझासँग भएका ७१ वटा बस पनि उपत्यकामा चल्न सकेका छैनन्। ७१ मध्ये ५० वटा बस मात्रै सञ्चालनमा रहेको मिश्रले बताए।
कोभिड महामारीयता २१ वटा बस थन्किएको उनको भनाइ छ।
भनेजति यात्रु नपाइने, तेल खर्च उठ्नसमेत मुश्किल हुने लगायत समस्याका कारण कोभिड महामारीपछि सबै बस सञ्चालन गर्न नसकिएको उनले बताए।
'अवस्था सामान्य होला र सञ्चालनमा ल्याउँला भन्ने सोचिरहेका बेलामा फेरि नयाँ भेरियन्ट आयो। जोर–बिजोर प्रणाली पनि भयो। अहिले जोर–बिजोर हटे पनि सबै बस सञ्चालनमा ल्याउन सकिएको छैन,' उनले भने।
साझाले उपत्यकामा राति ११ बजेसम्म चल्ने गरी अरू बस पनि थप्ने योजना बनाएको उनी बताउँछन्। तर त्यही एउटा बसमा पनि सोचेजति यात्रु नपाउँदा योजना अघि बढ्न सकेको थिएन।
कोभिडका कारण चलिरहेको एउटा सेमी लो-फ्लोर बस पनि थन्किएपछि यसबारे थप नसोचिएको उनको भनाइ छ।
'कोभिड जोखिम कहिलेसम्म रहने भन्ने अनुमान गर्नसक्ने अवस्था छैन। अब सामान्य भएपछि अपांगतामैत्री त्यो बस सञ्चालनमा आउँछ,' मिश्रले भने।
साझाको सहकार्यमा काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएका तीन वटा रात्रिकालीन बस पनि कोभिडयता थन्किएका छन्। महानगरले साझासँगको सहकार्यमा २०७६ असारदेखि तीन वटा रात्रिकालीन बस सञ्चालनमा ल्याएको थियो।
ती तीन बस न्युरोड गेटबाट नयाँ बानेश्वर, एयरपोर्ट, चाबहिल हुँदै नयाँबसपार्कसम्म र न्युरोड गेटबाट रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्मको रूटमा राती ९ बजेसम्म चल्थे। तर हाल यी बस पनि थन्किएका छन्।
कोभिडकै कारण ती बस थन्किएको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्।
'हामीले अरू बस चलाउन व्यवसायीहरूसँग छलफल पनि गरेका थियौं। तर कोभिड सुरू भयो। सञ्चालन भइरहेका बस नै थन्किए। त्यसले गर्दा यो योजना अघि बढ्न सकेन,' प्रवक्ता डंगोलले सेतोपाटीसँग भने।
अरू व्यवसायीसँग पनि सहकार्य गरेर रात्रिकालीन बस चलाउनेबारे महानगरले राजपत्रमै सूचना प्रकाशित गरेको थियो। २०७६ वैशाखमा प्रकाशित सूचनामा २०७६ कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म रात्रिकालीन बस चलाउने उल्लेख गरिएको थियो।
फागुनदेखि असोजसम्म बिहान ५ बजेदेखि राति १० बजेसम्म सवारी चलाउने उल्लेख थियो। रात्रिकालीन बस सेवा सञ्चालनका लागि छुट्टै समिति गठन गर्ने तयारी पनि महानगरको थियो।
तर कोभिडपछि दिवासेवा नै अलपत्र परेकाले रात्रिकालीन सेवा सञ्चालनको विषय अगाडि बढ्न नसकेको प्रवक्ता डंगोलको भनाइ छ।
हेर्नुहोस् सेमी लो-फ्लोर बस उद्घाटन गर्दाको भिडिओ