टाटा मोटर्सले यो महिना पनि आफ्नो प्रदर्शन कायम गरेर हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको छ।
पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ। भारतीय सवारी साधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै छ।
टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, विशेषता र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ।
बिक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयुभी भएको हो। टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चित एसयुभी हो। टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रूपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ।
टाटा मोटर्सले जनवरीमा मात्रै १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको छ भने कियाले जम्मा ११ हजार ४८३ वटा सेल्टोस र हुन्डाईले ११ हजार ३७७ वटा भेन्यू बिक्री गरेको हो।
चौथो स्थानमा टाटा मोटर्सकै नयाँ माइक्रो एसयुभी परेको छ भने हुन्डाईले ९ हजार ८६९ वटा क्रेटा बिक्री गर्दै पाँचौ स्थानमा परेको छ। सर्वाधिक बिक्री हुनेमा ब्रेजा छैटौं स्थानमा परेको छ। यो गाडी ९ हजार ५७६ वटा बिक्री भयो। सातौं स्थानमा भने कियाको सोनेट पर्यो। कम्पनीले ६ हजार ९०४ वटा सोनेट बिक्री गरेको हो।
त्यस्तैगरी, सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार (४ हजार ६४६ वटा बिक्री), महिन्द्रा एसयुभी ३०० (४ हजार ५५० वटा बिक्री) र महिन्द्रा एसयुभी ७०० (४ हजार ११९ वटा) बिक्री गरेको छ।