धेरै मान्छेको सपना हुन्छ- एउटा राम्रो गाडी किन्ने। आफूलाई मनपर्ने गाडी किन्नकै लागि लामो समय मिहिनेत गर्छन्। तर कुन उमेरमा गएर सपना पुरा हुने हो टुङ्गो हुँदैन।
मुम्बईंका एक व्यक्तिले ८३ वर्षको उमेरमा आफ्नो सपना पुरा गरेका छन्। उनको नयाँ गाडी किन्ने र चलाउने सपना पुरा भएको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार ती वृद्धले ८३ वर्षको उमेरमा नयाँ गाडी चलाएर सपना पुरा गरेका हुन्। 'ह्युमन्स अफ बम्बे' नामक इन्स्टाग्रामले यसबारे पहिलो पटक रिपोर्ट गरेको हो। यसले आफ्नो खाताबाट ती व्यक्तिको भिडिओ अपलोड गरेका छन्। उक्त पोस्टले हालसम्म १ लाख ५० हजारभन्दा बढी लाइक पाएको छ।
'मेरो सम्पूर्ण समय र कमाइ छोराछोरीको पढाइ, उनीहरूको उज्वल भविष्य र परिवारको लागि सुम्पिएँ। मेरो प्राथमिकता पनि उनीहरू नै भए,' नयाँ गाडी किनेका ८३ वर्षीय ती वृद्धले भनेका छन्, 'म गाडी पारखी हुँ। तर परिवारको भविष्य सोचेर र पैसा बचत गर्न सधैं सेकेन्ड ह्यान्ड गाडी किन्थेँ। यो मेरो पहिलो नयाँ गाडी हो। ८३ उमेरमा मैले पहिलो पटक नयाँ गाडी चलाउदै छु।'
ह्युमन्स अफ बम्बेका अनुसार झन्डै ६ महिना अघि उनले पुनः सेकेन्ड ह्यान्ड गाडी किन्ने सोचेका थिए। तर यसपटक उनलाई उनको सन्तान र नातिनातिनाहरूले नयाँ गाडी किन्न सल्लाह दिए। उनले पनि केही समय सेकेन्ड ह्यान्ड गाडी किनेनन्।
त्यसैबखत उनको नातिनातिनाहरूले उनको लागि नयाँ गाडी बुकिङ गरिदिए। नयाँ मारुती सुजुकी व्यागनआर उनको घरसम्म डेलिभर गरिएको थियो।
८३ वर्षको उमेरमा पहिलो पटक नयाँ गाडी पाएका ती वृद्धले गाडी पाएसँगै आफू जवान युवा जस्तो खुशी र उत्साहित भएको बताएका छन्। 'गाडी देखेर म एकैछिन छक्क परेँ। त्यसपछि बच्चाहरूलाई लिएर ड्राइभमा निस्केँ। त्यो मेरो जिन्दगीको सबैभन्दा यादगार पल बन्यो।'
उनी अचेल नयाँ गाडीमा कहिले छोरा र कहिले छोरीहरूको घरसम्म पुग्छन्। त्यस्तै, उनी छिट्टै ड्राइभको लागि लोनावला जाने योजना बनाइरहेका छन्।