बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ। धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिदैँछन्। तर उपभोक्ताहरूलाई गाडीको विशेषताहरू उपयुक्त लागे यसै पनि रुचाइन्छ। त्यसमध्येको एउटा उदाहरण हो टाटा नेक्सन। नेपालमा यसको बिक्री सन् २०२१ को जुलाईदेखि मात्रै सुरू भएको हो। तर टाटा नेक्सन निकै राम्रो प्रतिक्रिया र बजार पाएको छ।
नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यू र रेनोको काइगरलाई लिन सकिन्छ। टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस-६ कम्प्लायन्टको इन्जिन जडित छ। कम्पनीहरूले गाडीको विशेषता अपग्रेड गर्न कुनै ठाउँ छाडेको छैन।
टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ। भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा जम्मा ४ स्टार रेटिङ पाएको छ।
सुरक्षाको हिसाबमा सबैभन्दा अघि भएको टाटा नेक्सन किन सर्वाधिक रुचाइएको छ? र, यी तीन गाडीमा के–के विशेषता र भिन्नता छन्?
टाटा नेक्सनको तौलको कुरा गर्दा यो जम्मा १,२३७ केजी छ। हुन्डाई भेन्यूको तौल भने १,११२ देखि १,२५१ केजी हुन्छ। यता रेनो काइगर यी दुईभन्दा कम तौलको छ। यो जम्मा १,०१२ केजी छ। भनेपछि नेक्सनको तौल दुईभन्दा बीचमा पर्ने हुँदा औसत मान्न सकिन्छ।
टाटा नेक्सनको लम्बाई ३,९९३ एमएम, चौढाई १,८११ र उचाई १,६०६ एमएम छ। योभन्दा भेन्यूको लम्बाई बढी छ। यसको लम्बाई ३,९९५ एमएम, चौढाई १,७७० एमएम र उचाई १,६०५ एमएम छ। उस्तै, काइगरको लम्बाई भने ३,९९१ एमएम, चौढाई १,७५० एमएम र उचाई १,६०० एमएम छ।
टाटा नेक्सनको ह्विलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्विलबेस २,५०० एमएम छ। भेन्यूको ग्राउन्ड क्लेरेन्स जम्मा १९० एमएम र काइगरको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ। यता नेक्सनको ग्राउन्ड क्लेरेन्स भने यी दुईभन्दा धेरै छ। त्यो भनेको यसमा २०९ एनएम ग्राउन्ड क्लेरेन्स छ। टाटा नेक्सन नेपालको उखाडखाबड बाटोको लागि निकै उपयुक्त छ।
बाहिरी आवरणः
५ सिटर नेक्सन, भेन्यू र काइगर तीनवटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ। कम्पनीले आफ्नो उत्पादनको आवरणमा विशेष ध्यान पु¥याएको बुझ्न सकिन्छ।
नेक्सनको कुरा गर्दा यसको लुक्स निकै बोल्ड छ भने पछाडिको भाग अलि स्लिम छ। नेक्सनको तुलनामा भेन्यूको आवरण भिन्न छ। यसमा ठूलो रेडियटर ग्रिल छ र हेडल्याम्पको लागि स्प्लिट थिम छ। नेक्सन र भेन्यूमा अगाडि भागमा फग लाइट छ। तुलनात्मक रुपमा काइगरमा भने फग लाइट छैन। त्यस्तै, भेन्यू र नेक्सनमा सन रुफ छ तर काइगरमा छैन। भेन्यूको तुलनामा टाटामा डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइट छ।
तीनैवटा गाडीमा एड्जस्टेबल हेडल्याम्प र रिअर भ्यू ऐना भने पाउन सकिन्छ। यी गाडीहरूमा अलोय ह्विलको प्रयोग गरिएको छ। भेन्यू र काइगरको तुलनामा नेक्सन बढी युवा पुस्ताले रुचाउने डिजाइनमा तयार पारिएको छ।
आन्तरिक विशेषताः
टाटा नेक्सन, हुन्डाई भेन्यू र रेनो काइगर तीनवटै गाडीको इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ। गाडीहरूमा सफा र फराकिलो ड्यासबोर्ड पाउन सकिन्छ। तर तुलनात्मक हिसाबमा नेक्सनको क्याबिन फराकिलो र बढी विशेषताले भरिपूर्ण देखिन्छ। यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजको लागि ठाउँ पनि छ। यो डुअल–टोन थिममा आधार भएकोले पनि अझ आकर्षक देखिन्छ। नेक्सनमा जस्तै काइगरमा पनि डुअल–टोन ड्यासबोर्ड भने पाउन सकिन्छ।
भेन्यू र काइगरको तुलनामा नेक्सनमा चालक र यात्रुलाई बस्नको लागि फराकिलो ठाउँ छ। त्यस्तै, यात्रु सुविधाको लागि नेक्सनमा अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा छ। जुन काइगर र भेन्यूमा छैन।
सुरक्षाः
सुरक्षाको हिसाबमा टाटा नेक्सनले वयस्क सुरक्षाको लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाको सुरक्षाको हकमा ३ स्टार रेटिङ पाएको छ। भेन्यू र काइगरले ग्लोबल एनक्यापममा जम्मा ४ स्टार रेटिङ पाएको छ।
काइगरमा चार वटा एयरब्याग छन्। यता नेक्सन र भेन्यूमा भने जम्मा दुई वटा एयरब्याग छन्।
काइगरमा पंचर रिप्येर किटहरू पाइदैन तर नेक्सनमा भने यो किट उपलब्ध गराइएको छ। त्यस्तै, नेक्सनमा हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी जस्ता विशेषताहरू छन् जुन काइगर र भेन्यूमामा समावेश गरिएको छैन। नेक्सनमा इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षा विशेषता पनि छन्।
यी तीनवटै गाडीमा चाइल्ड सेफ्टी लक विशेषता पाउन सकिन्छ।
इन्जिन र ट्रान्समिसनः
एकै सेगमेन्टको भेन्यू, काइगर र नेक्सनमा सबैभन्दा बढी डिस्प्लेसमेन्ट नेक्सनको छ। नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ।
१,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ। जसले ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ। उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ। जसले ४,०० आरपिएममा ११० पिएस पावर र१,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ।
हुन्डाई भेन्यू पनि १.२ लिटर कप्पा पेट्रोल र १.५ लिटर यू२ सिआरडिआई डिजेल विकल्पमा उपलब्ध छ। १,१९७ सिसी डिस्प्लेसमेन्ट भएको भेन्यू पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ। जसले ६,००० आरपिएममा ८३ पिएस पावर र ४,००० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ।
यसको डिजेल भर्सनमा भने १,४९३ सिसी डिस्प्लेसमेन्ट छ जसले ४,००० आरपिएममा १०० पिएस पावर र १,५००–२,७५० आरपिएममा २४० एनएम टर्क जेनेरेट गर्छ।
रेनोको काइगरमा ९९९ सिसी, ३ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ। यसले ६,००० आरपिएममा ८२ बिएचपी पावर र ४,००० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ।
पावरको हिसाबमा यी तीन एसयुभीमध्ये सबैभन्दा बढी पावर नेक्सनकै छ। यो पेट्रोल र डिजेल दुवैमा ६ गियर म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
इन्धन क्षमताः
नेक्सनको पेट्रोल संस्करणले प्रति लिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ। भेन्यूको पेट्रोल संस्करणले प्रति लिटर १७.५२ किलोमिटर र डिजेल संस्करणले २३.४ किलोमिटरको माइलेज दिन्छ। यता काइगरले भने प्रति लिटर १९.३ किलोमिटरको माइलेज दिन्छ।
अन्य फिचरः
टाटाको नेक्सनमा इको, सिटी र स्पोर्ट गरि तीन ड्राइभिङ मोड छ। जुन भेन्यू र काइगरमा पाइदैन। यसमा ३५० लिटरको बुट स्पेस छ। भेन्यूमा पनि ३५० लिटरको बुट स्पेस छ। उता रेनो काइगरमा भने ४०५ लिटरको बुट स्पेस पाउन सकिन्छ।
नेक्सनमा १६ इन्चको अलोय ह्विल छ। काइगरमा पनि १६ इन्चको ह्विल पाउन सकिन्छ। हुन्डाई भेन्यूमा भने जम्मा १५ इन्चको ह्विल छ।
नेक्सनमा सनग्लास होल्डर पनि दिइएको छ। जुन भेन्यू र काइगरमा छैन।
मूल्यः
नेपालमा नेक्सनको मूल्य जम्मा ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म तोकेको छ। यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ।
हुन्डाईको नेपाली बजार मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयाँसम्म तोकेको छ। यो ग्रे, सिल्भर, सेतो, निलो र सुन्तले रंग गरी पाँच रंग विकल्पमा उपलब्ध छ।
नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म उपलब्ध काइगर भने निलो, रातो, सिल्भर, ग्रे, सेतो र कालो गरी ६ विभिन्न रंग विकल्पमा उपलब्ध छ।