भारतमा उत्पादिन जिपको सात-सिटर एसयुभीको नाम 'जिप मेरिडियन' राखिने भएको छ। कम्पनीले सोमबार उक्त घोषणा गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
जिप मेरिडियन पूर्ण रुपमा भारतमै उत्पादन गरिनेछ। यसको डिजाइनिङदेखि विशेषताहरू उत्कृष्ट हुने कम्पनीको दाबी छ। कम्पनीका अनुसार ७० भन्दा बढी नाम विकल्पमध्ये भारतमा उत्पादित जिपको नाम मेरिडियन राखिएको हो।
पछिल्लो समय भारतीय सडकहरूमा नयाँ मेरिडियनको टेस्ट ड्राइभिङ गरिएको देखिएको छ। यो सार्वजनिक भएसँगै भारतीय बजारमा उपलब्ध जिपको यो पहिलो सात-सिटर एसयुभी हुनेछ।
'हामीले यो जिप भारतको विभिन्न भू-भागमा टेस्ट ड्राइभ गरिसकेका छौं,' जिप इन्डियाका प्रमुख निपुन जे महाजनले भनेका छन्, 'जस्तोसुकै भू-भागमा पनि जिप मेरिडियनको प्रदर्शनी निकै अब्बल छ। यो जिप मेरिडियन भारतमा उत्पादित भारतीय बजारको लागि उपयुक्त छ।'
जिप इन्डियाका प्रमुख निपुन महाजनका अनुसार कम्पनीले मेरिडियनको लुक्स, प्रदर्शनी र अफ-रोड क्षमतालाई निकै समय दिएर तयार पारेको छ। जिपको नयाँ मेरिडियन भारतमा सन् २०२२ भित्रै सार्वजनिक गरिने बताइएको छ।
जिप मेरिडियनको इन्जिन र ट्रान्समिसनबारे हालसम्म कम्पनीले पुरै जानकारी खुलाएको छैन। तर विभिन्न रिपोर्टहरूअनुसार यसमा २.० लिटर पेट्रोल मोटर इन्जिन हुने अनुमान छ। त्यस्तै, यो डिजेल युनिटमा पनि उपलब्ध हुने बताइएको छ। यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन हुनेछ।
त्यस्तै, मेरिडियनमा १०.२५ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन, प्यानारोमिक सनरुफ, क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड सिटलगायतका विशेषताहरू समावेश गरिने अनुमान छ।
कम्पनीले नयाँ मेरिडियनको मूल्य सार्वजनिक नगरेपनि यसको मूल्य भारु ३५ लाखभन्दा बढी हुने अनुमान छ। यो सात-सिटर एसयुभीले बजारमा उपलब्ध टोयोटा फर्चुनर, एमजी ग्लोस्टर र स्कोडा कोडियाकसँग प्रतिस्पर्धा गर्नेछ।