बिएमडब्ल्यूले भारतीय बजारमा आफ्नो एक्स-३ एसयुभीको डिजेल भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार भारु ६५ लाख ६० हजारमा नयाँ एसयुभी सार्वजनिक गरेको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार डिजेल भेरियन्टको यो एसयुभी भारतमै उत्पादन गरिएको हो। यसमा २.० लिटर, चार सिलिन्डर डिजेल युनिट इन्जिन जडित छ। जसले अधिकतम १९० एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ। यो आठ-स्पीड अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
डिजेल भेरियन्टमा बिएमडब्ल्यू एक्स-३ सार्वजनिक भएसँगै भारतमा एक्स-३ पेट्रोल र डिजेल दुवै पावरट्रेनमा उपलब्ध हुनेछ।
डिजेल भेरियन्टको यो बिएमडब्ल्यू एक्स-३ जम्मा ७.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटरको रफ्तारमा गुड्छ। त्यस्तै, यो एसयुभीको टप स्पीड २१३ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले दाबी गरेको छ।
यसको बाहिरी डिजाइनिसँगै भित्री विशेषताहरूमा कम्पनीले विशेष जोड दिएको छ। गाडीको अगाडि भागमा ठूलो ग्रिल हुनुका साथै गाडीको टेल लाइट पनि चकिलो छ। गाडीमा एलइडी हेडल्याम्प दिइएको छ।
यसको भित्री भागको क्याबिन फराकिलो र आकर्षक छ। एक्स-३ मा १६ वटा स्पिकर हर्मान कार्डन साउन्ड सिस्टम, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एप्पल कारप्ले र एनड्रोइड अटो सपोर्ट गर्ने ठूलो इन्फोटेनमेन्ट सिस्टम लगायत विशेषताहरू समावेश गरिएको छ।
एक्स-३ एसयुभीमा १९ इन्चको अलोय ह्विल पाउन सकिन्छ। त्यस्तै, गाडीमा ५५० लिटरको बुट स्पेस छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १,६०० लिटरसम्म बढाउन सकिन्छ।
सुरक्षाको लागि २०२२ बिएमडब्ल्यू एक्स-३ मा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरासहितको पार्किङ असिस्ट प्लस, कर्निरिङ ब्रेक कन्ट्रोल, क्र्यास सेन्सर, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, आइसोफिक्स चाइल्ड माउन्टिङलगायत विशेषताहरू पाउन सकिन्छ।
बजारमा नयाँ डिजेल भेरियन्टको एक्स-३ सेतो, निलो, ग्रे, कालो रंगको विभिन्न सेड्स विकल्पमा उपलब्ध हुनेछ।